Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

कोरोना महामारीमा उपयोगी मानिने सिटामोलको चरम अभाव


पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा बढिरहेको छ। संक्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइँदैन।सरकारी तथा सार्वजनिक कार्यालयमा सेवाग्राहीका भिड लाग्न रोकिएको छैन। नागरिकले स्वास्थ्य संस्था, यातायात, मालपोत, निर्वाचन कार्यालयमा सुरक्षा सावधानी बिनै सेवा लिँदै आएका छन्।

संक्रमणदर बढ्दै जाँदा भने बजारमा प्राप्त हुने खाद्यवस्तु, औषधिलगायतका मानव जीवनका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव बढ्न थालेको छ। यही अवस्थालाई मध्य नजर गर्दै जिप्रकाले बिहीबार सुर्खेतका मुख्य बजारमा औषधि सप्लायर्स पसलको आकस्मिक अनुगमन गरेको थियो।

सुर्खेतका प्रशासकीय अधिकृत नन्दराम चौलागाईंको नेतृत्वको टोलीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित मुख्य बजारमा रहेको राम मेडिसीन डिस्ट्रिब्युटर एण्ड सर्जिकल सप्लायर्स, केडी फार्मेसी र सिनर्जी फार्मेसीसहितका औषधि सप्लायर्सका पसल अनुगमन गर्‍यो । यसक्रममा बजारमा सिटामोलको अभाव भएको पाइएको छ।

‘अनुगमन गर्दा राम मेडिसीन डिस्ट्रिब्युटर एण्ड सजिकल सप्लायर्स र केडी फार्मेसीमा सिटामोल ब्राण्डको औषधि नै भेटिएन,’ प्रशासकीय अधिकृत चौलागाईंले भने, ‘दुवै सप्लायर्समा मात्र कोडोपार ब्राण्डको औषधि छ जुन सिटामोलको मूल्यभन्दा ? पाँच बढी पर्छ ।’ सिनर्जी फार्मेसीमा भने २८३ स्टिमअर्थात् दुई हजार ८३० ट्याब्लेट सिटामोल पाइएको उनले जानकारी दिए।

केडी फार्मेसीका प्रोपाइटर दानबहादुर रोकायले सिटामोल बजारमा प्रतिट्याब्लेटको मूल्य रु एक हुँदा कोडोपार ६र७ रुपैयाँमा बजारमा बिक्री हुने गरेको बताए। मिश्रित आइटमले कोडोपार अलि बढी मूल्य, तर सिटामोल कम मूल्यको भएकाले मूल्यकै कारण उत्पादक कम्पनीले नै बजारमा सिटामोलको अभाव देखाएको प्रोपाइटर रोकायले बताए।

औषधि सप्लायर्ससँग सिटामोल नहुनुले कर्णालीमा यसको चरम अभाव देखिएको छ। सिटामोल अभावले भने उपभोक्ता एवं बिरामी छ गुणा बढी रुपैयाँ तिरेर कोडोपार औषधि किन्न बाध्य छन्।


प्रतिक्रिया दिनुहोस !
विचार