तालिबान प्रतिनिधि र भारतबीच वार्ता भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही समयपछि नै वार्ता भएको हो ।
वार्ता कतारस्थित भारतीय दूतावासमा भएको भारतको विदेश मन्त्रालयले जनाएको छ । वार्तामा कतारका लागि भारतीय राजदूत दीपक मित्तल र तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुख सहभागी थिए ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा तालिबान पक्षको आग्रहमा वार्ता भएको र वार्ता अफगानिस्तानमा रहेका भारतीय नागरिकको सुरक्षामा केन्द्रित रहेको बताइएको छ ।
तालिबानले दक्षीण एसियाको महत्वपूर्ण शक्ति भारत रहेको र सम्बन्ध विस्तारका लागि आफूहरु इच्छुक रहेको भेटवार्तामा बताएको बुझिएको छ । भेटवार्ताबारे बाहिर त्यति धेरै विषय नआएपनि तालिबानी र भारतीय राजदुतको यो भेटवार्तालाई निकै महत्वपूर्ण रुपमा लिइएको छ ।