नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा दुई अस्पतालका कर्मचारी र बिचौलिया पक्राउ परेका छन्। अस्पताल र प्रयोगशालाहरुले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क लिने गरेको पाइएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।भक्तपुरको मध्युपर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा त्यहाँका कर्मचारी र केही विचौलिया पक्राउ परेका अपराध अनुसन्धान महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
पक्राउ पर्नेमा विदेह नगरपालिका-४ धनुषाका रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिका-१ धनुषाका नागेन्द्र यादव, तेमाल गाउँपालिका-५ काभ्रेका माधव मैनाली र बलरा नगरपालिका-७ सर्लाहीका प्रसन्नकुमार झा छन् । त्यस्तै राजदेवी नगरपालिका-४ रौतहटका भावेश मित्र र काठमाडौं महानगरपालिका-३२ का निर्मल गिरी भने फरार छन् ।
प्रहरीका अनुसार आरोपित प्रसन्नकुमार झा नागरिक कम्युनिटी टिचिङ अस्पतालका ल्याब प्रबन्धक हुन् । भावेश मिश्र नागरिक कम्युनिटी टिचिङका पीसीआर ल्याब सञ्चालक र निर्मल गिरी कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक हुन् ।प्रहरीका अनुसार उनीहरुले व्यक्तिको स्वाबको नमुना नलिइकनै नेगेटिभ रिपोर्ट दिने गरेका थिए । त्यस्तै कतिपय पीसीआर पोजेटिभ देखिएका नमुनाको सिटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको पनि प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार ती अस्पताल र ल्याबबाट सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाबविनै विचौलियाहरुले आफैंले आफ्नो स्वाब संकलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको छ ।








