नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टी परित्याग गरेपछि अब के गर्लान् भन्ने कौतुहलता नेपाली राजनीतिमा चासो राख्नेहरुमा स्वभाविक रुपमा छाएको छ ।
एमाले परित्याग गरेपछि उनी माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लाग्लान् या अलग्गै आफ्नै नेतृत्वमा नयाँ पार्टीको घोषणा गर्लान् ? यो यतिबेला धेरैले चासोका साथ हेरेका छन् । तात्कालिन अवस्थामा माओवादी र एमाले एक भएर बनेको नेकपाभित्र चरम विवाद चुलिँदा उनले पार्टी एकता महाअभियान भनेर शुरु गरेका थिए । तर, त्यो अभियान सार्थक भएन । पछि एमाले विभाजित हुने अवस्था आएका बेलामा पनि उनले कुनै गुटमा नलागी आफूलाई तटस्थ राख्ने प्रयास गरे ।
ओली र माधव नेपाल दन्त बजानको उच्चतम तहमा पुगेका बखत पनि उनले आफूलाई शान्त राख्ने प्रयास गरे । कुनै गुटमा पनि देखिएनन् । एमाले विभाजित भयो । माधव नेपालले अलग्गै पार्टी घोषणा गरे । उनी शुरुमा त्यो पार्टीमा पनि लागेनन्, र एमाले पछि छोडेनन् । तर, माधव नेपालको पार्टी घोषणा भएको केहीदिनपछि भने उनले आफू माधव नेपालको पक्षमा रहेको बताए । तर, ढुलमुले स्वभावका गौतमले तत्कालै बोली फेरिहाले । त्यसको एक दुईदिनपनि बित्न नपाई उनले भने ः म एमाले छाडेर कतै गएको छैन । उनको अभिव्यक्तिपछि माधव नेपाल खंग्रङ्ग भए । माधव नेपालले जनताको बहुदलीय जनवाद पार्टी दस्तावेजमा नराखेका कारण आफू त्यो पार्टीमा रहन नसक्ने बामदेव गौतमले घोषणा गरे । केही सञ्चार माध्यममा उनीसँगको कुराकानीमा आधारित भनेर समाचार पनि सार्वजनिक भयो ।
एमाले छाडेर तत्काल कहिँ नजाने र केही नगर्ने उनको सचिवालयले बतायो । तर, शुक्रबार एकाएक एमालेको साधारण सदस्य पनि नरहने गरी राजीनामा दिए । राजीनामा दिएपछि अब आखिर उनले गर्लान् के ? अस्ति जे जे भनेपनि फेरि म त तपाईँतिरै आएँ भनेर माधवकुमार नेपालसँग जालान् या होइन आबेगमा आएर राजीनामा दिएँ फिर्ता लिन्छु भन्लान् । अथवा त्यो पनि होइन यो पनि होइन, अब आफ्नै नेतृत्वमा अलग्गै पार्टी गठनतिर लाग्लान् । राजनीतिक विश्लेषक आनन्दराम पौडेलको बुझाइमा अब बामदेव गौतमका दिन सकिए । यीनले नयाँ पार्टी पनि खोल्न सक्दैनन् र माधव नेपालतिर पनि सक्दैनन् । नयाँ पार्टी खोलिहाले भनेपनि यीनको पार्टी उही नाम मात्रको हुनेछ । त्यसो त वामदेव गौतमले अब के गर्लान् भन्ने धेरैको कौतुहलताका बीचमा आजको प्रेसले पुराना कम्युनिष्ट नेता प्रदीप नेपालसँग वामदेव गौतमको अबको राजनीति यात्रा कस्तो देख्नुहुन्छ भनेर सोधेको थियो । वामदेव गौतमले नयाँ पार्र्टी खोल्ने सम्भावा देख्नुहुन्छ भन्दा प्रदीप नेपालको भनाइ थियो ः वामदेव गौतम उमेरले पनि थाकिसकेका नेता हुन् । ७० कटेका गौतमले अब नयाँ पार्टी खोलेर अघि बढ्ने सम्भावना छैन ।
माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद मानेको खण्डमा माधवकुमार नेपालकै पार्टीमा प्रवेश गर्ने सम्भावना रहेको गौतम निकट स्रोतले जनाएको छ । तर, माधव कुमार नेपालले मुखले हुन्छ भनेपनि व्यवहारमा त्यो पार्टीको दस्तावेजमै जबज लेख्न आनाकानी गर्ने धेरैको ठम्याइ छ । प्रदीप नेपाल पनि माधव नेपालले जबज लेख्ने कुरामा विश्वस्त छैनन् । प्रदीप नेपालले त माधव नेपालले दस्तावेजमा जबज छ भनेर आफूलाई झुक्याउने काम नै गरेको बताउँदै आएका मात्रै छैनन् माधव नेपाललाई झेली नेता भनेर माधव नेपालको पार्टी नै छोडिसकेका छन् । तर, प्रदीप नेपालले भनेजस्तै वामदेव गौतममा नयाँ पार्टी खोल्ने आँट भने देखिदैन । त्यसैले पनि अब वामदेव गौतम फेरि माधव नेपालकै पार्टीमा प्रवेश गर्ने सम्भावना छ । वामदेव गौतमले २०५४ मा नयाँ पार्टी खोलेर हार खाएका कारण पनि उनी फेरि नयाँ पार्टी खोल्नतिर भन्दा माधव नेपालले खोलेकै पार्टी प्रवेश गर्न सक्छन् ।