भारतको उत्तर प्रदेश प्रहरीले कोभिडको नक्कली खोपदेखि परीक्षण गर्ने किटसम्म बरामद गरेको छ। विशेष ट्र्याकिङ फोर्सले वाराणसीको रोहित नगरबाट ४ करोड भारतीय रूपैयाँ बराबरका ती नक्कली खोप र किट बरामद गरेको हो। प्रहरीले बुधबार छापा मारेर ठूलो परिमाणमा नक्कली खोप र परीक्षण किट बरामद गरेको जानकारी दिएको छ।
सोही क्रममा प्रहरीले उक्त घटनामा संलग्न राकेश थवानीलगायत ५ जनालाई पक्राउ गरेको छ। प्रहरीले नक्कली परीक्षण किट, कोभिसिल्ड र जाइकोभ-डीका नक्कली खोपका भाइल, प्याकिङ मेसिन, खाली सिसी र प्याक गरिएका स्वाब स्टिकसमेत बरामद गरेको बताएको छ। सोधपुछका क्रममा पक्राउ परेका राकेशले नक्कली खोप र परीक्षण किट निर्माणमा संलग्न रहेको स्वीकारेको प्रहरी प्रवक्ताले बताए।
प्रहरीको सोधपुछका उनीहरूले करिब ६ महिनादेखि वाराणसीमा बसेर कोरोनाको नक्कली खोप र परीक्षण किट बनाइरहेको खुलासा गरेका छन्। शहरको पोश कोलोनीमा बस्दै आएका उनीहरूले कोरोनाको नक्कली खोप र परीक्षण किट बनाएर अरु प्रदेशमा पठाउने गर्दै आएका थिए। उनीहरूले कार्यालय बनाएको घरबाट लेबल लगाइएका ७ सय २० भाइल र लेबल नलगाइएका १ हजार भाइल बरामद भएको छ। खोपको यति मात्राले करिब १७ हजार मानिसलाई खोप लगाउन सकिन्छ।
छापा मार्दा एन्टिजेन परीक्षण किटका ४ सय ३२ बाकस पनि फेला परेको छ। प्रत्येक बाकसमा २५ किट छन्। यी किटबाट लगभग ११ हजार मानिसको परीक्षण गर्न सकिन्छ। प्रहरीले रेमडेसिभिर खोपको त भण्डार नै बरामद गरेको छ।








