नेकपा एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्रीले दुई तिहाईको सरकारलाई बालुवाटारबाट बालकोटको बार्दलीमा लगेका केपी ओलीले अझै खाँबो चिथोर्न नछाडेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।
बुधबार नेकपा एमालेले संसद अबरुद्ध गरेपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै सांसद झाँक्रीले ओलीले संसद अबरुद्ध गरेर आफ्नो चरित्र देखाएको बताइन् ।
एमालेले एकीकृत समाजवादीका १४ सांसदलाई गैह्र सांसद भन्दै सभामुख अग्नी सापकोटाबिरुद्ध चर्का नारा लगाई संसद अबरुद्ध गरेपछि क्रुद्ध बनेकी सांसद झाँक्रीले ओलीले चाहेको हुने भए आफूहरुलाई धर्तीमा टेक्न पनि नदिने बताइन् । तर, ओलीको चाहना अनुसार नहुने उनको भनाइ थियो ।
बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख विरुद्ध चर्का नाराबाजी गर्दै संसद अबरुद्ध गरेपछि आगामी २५ गते दिउँसो १ बजे सम्मका लागि संसद स्थगित गरिएको छ । यसअघि सभामुख सापकोटाले संसद बैठक बुधबार सुचारु गर्ने प्रयास स्वरुप १५ मिनेटका लागि दुई पटक संसद बैठक अबरुद्ध गरेका थिए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अबरुद्ध गरेपछि २५ गतेका लागि बैठक बोलाइएको छ ।