संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घको उडान सुरक्षा सूचीमा रहेको नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गरेका छन्। मन्त्री आलेले नेपालका लागि ईयूका राजदूत नोना डिप्रेसँग आज सोमवार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले हवाई सुरक्षामा गृहकार्य गरिरहेकाले पनि त्यो सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरेका छन् ।
मन्त्री आलेले भने, ‘नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न तथा उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ ।’ उनले नागरिक उड्डयन क्षेत्रका साथै संस्कृति तथा पर्यटन क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि ईयूसँग नेपालले सहकार्य गर्न चाहेको धारणा पनि राखे ।
भेटमा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि ईयूको प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गरिने आश्वासन दिए । ईयूले नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गरिरहने आश्वासन दिँदै उनले नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग–अलग निकाय स्थापनाका लागि पनि नेपाललाई आग्रह गरे ।








