Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

के गर्लान् सभामुखले ?


सभामुख अग्नीप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अबरोध गर्दै आएको छ । नेकपा एमाले विभाजनको मतियार सभामुख बनेको भन्दै त्यसप्रति आत्मालोचना गर्नुपर्ने र आफ्नो पार्टीले कारबाही गरेका माधव नेपाल सहितका १४ सांसदलाई संसद प्रवेशमा रोक लगाउनुपर्ने उसको माग छ ।
आफ्नै विरुद्धमा संसदमा चर्का नाराबाजी भइरहँदा सभामुख सापकोटा स्वभाविक रुपमा चिन्तित बनेका छन् । सभामुखका विरुद्धमा चर्का नाराबाजी गर्दै एमालेले संसदको यो अधिवेशन शुरु भएकै दिन भदौ २३ गते पहिलोपटक संसद बैठक अबरुद्ध ग¥यो । आफ्ना बिरुद्ध संसदमा चर्का नाराबाजी भएपछि सभामुख आक्रोशित भए । सभामुखले रिस थाम्न सकेनन् । उनी च्याँठिदै चर्को स्वरमा सभामुखको आसनबाट नाराबाजी गर्ने सांसदहरुको ध्यानाकर्षण गराउँदै केही कुरा बोले । सभामुखको त्यो चर्को स्वर अलि अस्वभाविक र झगडालु शैलीको देखिएको थियो । जसबारे संसदको त्यो बैठकपछि व्यापक आलोचना पनि भयो ।
२३ गते नै संसद सुचारु गर्न सभामुखले पटक पटक प्रयास गरे । त्यसदिन १५ मिनेटका दरले दुई पटक संसद बैठक स्थगित गरे । तर, विपक्षी दलसँग सहमति जुटाउने उनको प्रयास सफल भएन । बैठक २५ गतेका लागि सारियो । त्यसदिन पनि एमालेले उही नारा लगाउँदै संसद बैठकमा अबरोध जारी राख्यो । तर, सभामुखले २५ गते अबरोधको वास्ता गरेनन् । केहीपटक सांसदहरुलाई अबरोध नगर्नका लागि आग्रह त गरे तर, त्यो आग्रहले काम नगरेपछि अबरोधकै बीचमा उनले संसद बैठक चलाए । अबरोधकै बीचमा संसद बैठक चलाउँनु संसदीय मुल्य र मान्यता अनुकुलको होइन । तर, नेपालको सन्दर्भमा पछिल्ला केही वर्षयता यो सामान्य हुन थालेको छ । अबरोधकै बीचमा यसअघि पनि पटक पटक बैठक चलाएका उदाहरण छन् । कुनैबेला सभामुखको आसनमा बसेका सुवासचन्द्र नेम्वाङले पनि अग्नी सापकोटाले जस्तै गरेका छन् अनि ओनसरी घर्ती र कृष्णबहादुर महराहरु सभामुख हुँदा पनि यस्तै भएका छन् । अबरोधका बीचमा पनि संसद बैठक चलाउँने गलत नजिर स्थापित भएको छ । त्यसैले अहिले सुवास नेम्वाङ विवश छन् आफैंले बसालेको गलत नजिरका बिरुद्धमा संसदमा उभिएर नाराबाजी गर्न ।
सभामुखको सम्मानित कुर्सीमा बसेकाहरुले गलत नजिर स्थापित गरे । जसको फल यतिबेला स्वयंले भोगिरहेका छन् । त्यसो त सभामुख भइसकेकाहरुको मात्रै कुरा नगरौं सभामुखलाई मर्यादाहिन भनेर संसदमा नारबाजी गर्ने सांसदहरुका मर्यादाको पनि एकैछिन कुरा गरौं । सभामुखलाई मर्यादाको पाठ पढाउने यीनै सांसदहरु आफ्नो मर्यादाको धोती खुस्किएको चाल पाउँदैनन् । चाल पाएको भए किन भन्थे होलान् माइकले हानेर आज म सभामुखको टाउको फुटाइदिन्थेँ भनेर ।


सभामुखलाई मर्यादाको पाठ पढाउँने यी सांसदको कुरा सुनेर मर्यादा शब्द आफैं लज्जित भयो होला । अनि सांसदहरुलाई मर्यादाको पाठ पढाउँने सभामुखको शैली देखेर पनि मर्यादा शब्द लज्जित भयो होला । संसदमा एकजना मात्रै सांसद उठेको बेलामा पनि संसद बैठक चलाउँनु संसदीय मर्यादाविपरित हुन्छ । संसदीय व्यवस्था प्रतिकुल हुन्छ । तर, मुढेबलमा संसद बैठक चलाइएको छ । हुन त प्रतिपक्षी दलले अहिले गरिरहेको विरोध नै संसद नियमावली विपरित छ । सभामुख बारम्बार भनिरहेका छन् कि आफैंले बनाएको संसद नियमावली हेर्नुहोस् । संसद नियमावलीमा सभामुखको आचरणबाहेकका विषयलाई लिएर संसदमा सभामुखको विरोध गर्न पाइदैन । तर, यो कुरा नियम विधी र पद्धतीको कुरा गर्ने सांसदहरुले बुझेको नबुझे झैं गरिरहेका छन् ।
प्रश्न अब सभामुख कसरी अघि बढ्छन् भन्ने हो । प्रतिपक्षी दलले अब कहिलेसम्म संसदमा अबरोध गरिरहन्छ भन्ने हो । प्रतिपक्षी दल नाराबाजी गरिरहने अनि सभामुख बैठक अघि बढाइरहने । यो शैली कायम रहिरह्यो भने यसले देशलाई कहाँ पु¥याउला ? अहिले एमाले आफैंले अदालतमा १४ सांसदको विषयलाई लिएर मुद्धा हालेको छ । अदालतमा विचाराधिन मुद्धामा ऊ आफैंले अहिले संसदमा अबरोध गरिरहेको छ । यी सबै कुरालाई हेर्दा अब अदालतले यो मुद्धाबारे कुनै आदेश नदिएसम्म संसद यसैगरी चल्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार