Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

फागुन १ गतेदेखि चल्ने भयो रेल, लिगबाट हाटबजार हटाउन सुरु


धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिगमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ । आगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो ।

जनकपुरधामसहित ठाउँ ठाउँमा रेल्वे लिगमै तरकारी हाटबजार राख्ने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिगबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । हाटबजारका लागि जनकपुर रेल्वे स्टेशनकै छेउमा रहेको रेल्वे कम्पनीको जग्गाको निरीक्षण गरिसकेको र त्यसैलाई व्यवस्थित गरेर त्यहीँ हाटबजार लगाउने विषयमा एक चरणको छलफल भएको महाप्रबन्धक झाको भनाइ छ ।

खरिद गरेर पनि लामो समयदेखि सञ्चालन हुन नसकेका दुई रेल सेट नेपाल रेल्वे कम्पनीले आगामी फागुन १ गतेदेखि दैनिक जयनगरदेखि कुर्थासम्म ड्राई (बिना यात्रु) सञ्चालन गर्ने तयारी गरेको छ ।

‘हामीले आगामी महिनाको पहिलो वा दोस्रो सातामा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा जयनगर–कुर्था रेल सेवाको उद्घाटन गर्ने तयारी गरिरहेका छौँ’, महाप्रबन्धक झाले भने, ‘फागुन १ गतेदेखि उद्घाटन नहुँदासम्म बिना यात्रु प्रत्येक दिन एक पटक जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म रेल चलाउँछौँ, उद्घाटन भएपछि यात्रुको टिकट काटेर नियमित रेल सेवा सञ्चालन गर्ने तयारीमा हामी छौँ ।’


प्रतिक्रिया दिनुहोस !
विचार