Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

ए डिभिजन लिगमा च्यासलविरुद्ध पुलिसको संघर्षपूर्ण जीत


विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत स्थगित भएको खेलमा च्यासल युथ क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले हराउँदै नवौं चरणको खेलमा जित निकालेको हो।यसअघि च्यासलका खेलाडीमा कोरोनाको पोजेटिभ संकेत देखिएपछि स्थगित भएको खेलमा नेपाल पुलिसले बाजी मारेको हो।तुलनात्मक हिसाबमा कमजोर देखिएको च्यासलविरुद्ध पुलिसले सुरुआतबाट नै दबाब दिएर खेलेको थियो।

सोही क्रममा पुलिसका रविशंकर पासवानले ३७ औं मिनेटमा पुलिसका लागि खाता खोलेका थिए। त्यस अघि पनि पुलिसले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न निकै असफल भएको थियो।पुलिसलाई सुरुआती अग्रता दिलाउने क्रममा रविशंकरले निरकुमार राईले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्रबाट जाली चुमाएका थिए। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन।

५३ औं मिनेटमा च्यासल खेलमा फर्किने संकेत देखायो। मौसा अबगानाले पेनाल्टीबाट गोल गर्दै च्यासललाई खेलमा फर्काउने संकेत देखाए। पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो।पेनाल्टी अवसरलाई च्यासलका विदेशी खेलाडी मौसाले सदुपयोग गर्दै खेल १–१ को बराबरीका अवस्थामा ल्याएका थिए। ७० औं मिनेटमा रविशंकरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाए।

बाँकी समयमा च्यासल खेलमा फर्किन सकेन र पुलिसले च्यासलमाथि कठिन जित निकाल्न सफल भयो। खेलमा पुलिसका दुई गोल गरेका रबिशंकर प्लेयर अफ दि म्याच चुनिएर नगद १० हजार प्राप्त गर्दा च्यासलका आशिष राईले इमर्जिङ प्लेयर चुनिँदा नगद १० हजार रुपैयाँ पाए।


प्रतिक्रिया दिनुहोस !
विचार