आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।
तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य-अङ्ग्रेजी, अनिवार्य-संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा र उज्यालो अनलाइनमा गएर हेर्न सकिन्छ ।
सरकारले वैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेकाले त्यसअघि नै परीक्षा तोकिएको हो । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।
चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्ने गरी मिति घोषणा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए । यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ ।







