नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एकीकृत समाजवादी पार्टीको विधानको मस्यौदा आफूले तयार गरेको भनी फैलाइएको हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।
एमाले विभाजनपछि पहिलोपटक सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्किएका रावलले डोटीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफू कहिल्यै पनि पार्टी विभाजनका पक्षमा नरहेको बताए । माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीका केही नेताले रावलले नै समाजवादी पार्टीको मस्यौदा बनाएर अन्तिममा धोका दिएको बताइरहँदा रावलको यस्तो धारणा सार्वजनिक भएको हो ।
फरक प्रसंगमा रावलले राजनीतिक दल सम्बन्धी अध्यादेशले देशमा अस्थिरता निम्त्याएको बताए । अहिले एमाले विभाजन भयो भन्ने चिन्ता मात्रै नरहेको भन्दै उनले भोलिका दिनमा जुनसुकै दलमा पनि यो रोग अध्यादेशका कारण सर्ने खतरा रहेको उल्लेख गरे ।