Logo
१ बैशाख २०८३, बुधबार
|  Wed Apr 15 2026

नेपाललाई रातो सूचीबाट हटाउन बेलायतसँग गैरआवासीय नेपाली संघको माग


कोरोना महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली संघ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ। अध्यक्ष प्रेम गाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ।

बेलायती यातायातमन्त्री ग्रान्स साप्सलाई सम्बोधन गरी लेखिएको उक्त पत्रमा भारतलाई रातो सूचीबाट हटाइएको तर कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि राखिएकाले यो अव्यवहारिक रहेको उल्लेख गरिएको छ।

बेलायतमा करिब डेढ लाख नेपाली रहेका र गोर्खाका परिवार तथा अन्य यात्रा गरिरहनेहरूका लागि मापदण्डले झमेला भएको र नेपालबाट बेलायत आउनेले महँगो खर्चमा होटलमा क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाले थप असहज भएको भनिएको छ।

अधिकांशले कोभिडविरूद्धको खोप लगाइसकेका र त्यस आधारमा पनि नेपालीलाई यातायातमा सहज गराउन अनुरोध गरिएको छ। अन्य युरोपेली मुलुकले नेपाललाई रातो सूचीबाट हटाइसकेको र अब केवल बेलायतमात्र रहेको हुँदा आफ्नो मागलाई यथोचितरूपमा बुझेर कदम चाल्न बेलायत सरकारलाई भनिएको छ। बिहीबार नै संघले लण्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पनि पत्र पठाएर दुई देशबीचको यात्रा सहज गर्न पहलकदमी थाल्न अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार