Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

नारीः भिन्न या अभिन्न, समानता उसको अधिकार


सन् १९११ मा पहिलो पटक अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो। त्यसबेलादेखि हरेक वर्ष मार्च ८ मा मनाउन थालिएको हो। यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा, “दिगो भोलिको लागि आज लैङ्गिक समानता“ रहेको छ। महिला र पुरुष –दुइ भिन्न शारीरिक बनावटका मानवप्राणी जो समाजले दिएको जुनसुकै संबन्ध, नाता बाट एक अर्काका परिपूरक हुन्। प्रकृतिले नारी र पुरुषलाई जैविक रुपमा भिन्न स्वरुप बनाएको छ। तर त्यो भिन्नता अवश्य नै प्राकृतिक विभेद भने होइन। अझ भन्नुपर्दा, महिला र पुरुष एक अर्कामा भिन्न रुपले अभिन्न सृष्टि हुन् र एउटाको अस्तित्व अर्कोबाट पर रहन सक्दैन भन्ने सत्यताका बावजुद पनि तहगत विभेद २१औं शताब्दीसम्म पनि बलिष्ट छ। त्यसैले त सिंगो विश्वमा नै महिला अधिकार, सम्मान, स्वतन्त्रताको लागि संघर्ष, अभियान र महिला दिवस मनाएर नै भएपनि बारंबार स्मरण गराइरहनुपरेको छ।

नारी अस्मिता र नारी स्वतन्त्रताप्रति प्रतिबद्ध मान्यता, सिद्धान्त वा आन्दोलनको रुपमा प्रचलित नारीवाद कसरी आयो भन्ने सन्दर्भमा पनि मानव अस्तित्वका जरा खोतलेर हेर्नुपर्छ। नारीवाद आफैंमा एक विनिर्माण पद्धति हो। महिला र पुरुषप्रतिको आम–अवधारणा, संस्थागत भएका या गरिएका मुल्यमान्यता,संस्कार चालचलनको पुनर्व्याख्या र पुनर्लेखनमाथि नारीवाद अवधारणाले आलोचनात्मक चिन्तन र यस वर्षको स्लोगनले महिला र पुरुषको तहगत संरचनाको रचनात्मक सह–सिर्जना गर्न प्रेरित गरोस्।

नारी र पुरुषबीचका सीमित यौनिक भेदका आधारमा समाजले कृतिम रुपमा लैंगिक भेदहरु थोपेको छ। यही सीमित प्राकृत भेद र असीमित कृतिम भेदका आधारमा नै नारीप्रति विभेद हुने गरेको छ। तर यथार्थमा प्रत्येक व्यक्ति नारी र पुरुष दुवैको संयोजनको परिणामी हो। त्यसैले यी दुईबीच भिन्नताभन्दा पनि समानता बढी रहेको आजको नारीवादले व्याख्या गर्नुपर्छ। जसरी असल–खराब, सकारात्मक–नकारात्मक, सवल–कमजोर पक्ष हरेक व्यक्तिमा धेर–थोर मात्रामा हुन्छ। त्यसैगरी पुरुष पक्ष र नारी पक्ष पनि हरेकमा हुने प्रमुख ध्रुवीयता हो। तर समाजले परंपरागत रुपमा व्यक्तिभित्रको स्त्री पक्षलाईभन्दा पुरुष पक्षलाई महत्त्व दिदैं आएको छ। जसले गर्दा हरेकको व्यक्तित्व ऊभित्र अन्तरनीहित स्त्री र पुरुष तत्त्वको अन्तरक्रियाबाट बनेको हुन्छ भन्ने यथार्थलाई आत्मसात नगरी समाजले निर्धारण गरेको छोरामान्छे र छोरीमान्छेका खासखास गुण र भूमिकालाई नै ध्रुवसत्य मान्दै आइरहेकाछौं। परिणामस्वरुप सबै छोरामान्छेमा केवल पुरुष गुण र सबै छोरीमान्छेमा स्त्री गुण हुनुपर्ने अपेक्षा गरिन्छ।

त्यसैगरी कतिपयले व्यक्तिभित्रको कोमलता तथा अचेत अवस्थालाई स्त्रीत्व र जोधाहापना तथा चेतन अवस्थालाई पुरुषत्वका रुपमा बुझ्नु, बुझाउनु पनि संकिर्ण लैंगिक दृष्टिकोण हुन्। साथै नेतृत्वदायी भूमिकामा पुरुषको बर्चस्व अझै कायम रहनुले पनि लैंगिक समानताको अधिकार खोजिनुलाई न्यायसंगत सिद्ध गर्छ। कमला भासिन भन्छिन्ः पितृसत्तात्मक सोचले महिलालाई कमजोर बनाएकै छ। साथै यसले पुरुषलाई समेत अमानवीय बनाएको छ। इमोशनल कास्ट्रेसन (Emotional Castration) बाट पुरुषहरुको संवेगात्मक शक्तिलाई भित्रभित्र मारीदिएको छ। आमाको मृत्युमा समेत छोरालाई रुन दिइदैन, आँशु उसलाई सुहाउँदैन भनिन्छ र पुरुष पनि त्यही मान्यतानुसार नै आफूलाई प्रस्तुत गर्न खोज्छ। त्यसैले पुरुष खुलेर आफ्नो कमजोरी व्यक्त गर्न सक्दैन। जस्तोसुकै कठोर निर्णय र काम गर्न तयार हुनुपर्छ भन्ने भ्रममा उसलाई हुर्काइन्छ। यस भ्रमले पुरुष संवेगात्मक बुद्धिको प्रयोग गर्नबाट वंचित भएको हुन्छ। र संवेगात्मक बुद्धि जति मन्द हुँदै जान्छ व्यक्ति त्यति हिंसक बन्छ। संभवतः नारीभन्दा पुरुष बढी हिंसक हुनुको एउटा कारण यो पनि हुन सक्छ। यो कुरा पुरुष पक्षलाई बढी जोड दिएर हुर्काइएका महिलामा पनि देख्न सकिन्छ।

अस्तित्ववादी चिन्तनले हरेक नारी पुरुषलाई स्वच्छन्द नभई स्वायत्त र स्वतन्त्र व्यक्तिको रुपमा परिभाषित गर्छ। स्वतन्त्रतालाई व्यक्तिले आफैंमा मात्र सीमित गर्न मिल्दैन। यसको अर्थ नारी र पुरुष दुवै स्वतन्त्र नहुन्जेल एकलको स्वतन्त्रता असंभव छ। अरुलाई पीडा दिँदा क्षणिक रुपले आनन्दित भएपनि पीडक पनि पीडामा रहन्छ। नारीलाई आघात पुर्याउने पुरुषले आफैंभित्रको स्त्री चेतनालाई आघात पुर्याइरहेको हुन्छ भने पुरुषलाई आघात पुर्याउने नारीले पनि आफूमा रहेको पुरुष चेतनालाई। बाहिरबाट हेर्दा पीडितमात्र पीडामा देखिन्छ तर भित्रीतहमा बुझ्ने होभने पीडक पनि अशान्त, अधीर, विचलित हुन्छ। त्यसैले अरुलाई घृणा गर्दा आफूपनि प्रेमबाट वंचित हुनुपर्छ।

अतः अस्तिव भन्नु नै शक्तिउन्मुख इच्छाको प्रकटीकरण हो। रहन र फैलन दुवैका लागि शक्तिको खाँचो पदर्छ। त्यसैले हरेक व्यक्तिको अस्तित्वको आधार भनेको नै शक्ति प्राप्त गर्ने ईच्छा हो जसले उसलाई निरन्तर गतिशील बनाइराख्छ। तर अस्तित्वको खोजमा एकल अस्तित्वले पितृसत्ताको विकल्पमा मातृसत्ता खोज्छ। अर्थात् यो प्रतिस्पर्धात्मक हुन्छ। विरोधाभास हुन्छ। आधुनिक समाजमा पितृसत्तात्मक सोचको तोडको रुपमा (unisex marriage, single mother, living relationship) एकल अस्तित्वको खोज भएतापनि यो पनि पूर्ण एकल अस्तित्व होइन। किनकि यी संबन्धहरु परनियन्त्रण हावी हुने डरले स्वतन्त्रताको खोजी हो तर यसमा पनि एक–अर्काको अपरिहार्यता वा सह–अस्तित्व प्रष्ट देखिन्छ। यहाँ बुझ्नुपर्ने कुरा पितृसत्तात्मक एक सोच हो जुन पुरुषले मात्र सिकाइरहेको छैन कि पितृसत्तात्मक सोचबाट चलिरहेका महिला सोचले पनि फलाउने फुलाउने काम भैरहेको छ। अस्तित्वभित्र अहिले चलिरहेको नारीवादी अभियान आन्दोलनहरुले एकल अस्तित्व र सह–अस्तित्वको बारे धेरै पैरवी गरिरहेको हो कि? तर यतिमात्रले महिला र पुरुष अस्तित्वमा रहेको फाटोलाई न्याय गर्न नपुग्ने जस्तो लाग्छ। त्यसैले पनि अब पुग्नुपर्ने भनेको अन्तर–अस्तित्व हो। जसमा आफू हुनु र बन्नुमा अर्को व्यक्तिको उपस्थिति र योगदान स्विकार गरिएको हुन्छ। जसरी पुरुष वा महिलाको मृत्यु त पूर्णतः वैयक्तिक हुदैन। जीवन कसरी एकल हुन्छ र? एउटाको भौतिक मृत्युले अर्कोको मानसिक या प्रतीकात्मक मृत्युको कारण बन्छ भने जीवन अन्तरवैयक्तिक हुनु स्वभाविक प्रकृया हो।

के हो त अन्तर अस्तित्व वा inter-being  ? हरेक व्यक्ति समग्र जीवन–संजालको एक अंश हो। न त ऊ पृथक छ न एक्लो नै। संपूर्ण जैविक वस्तुहरु बीचको अन्तरसंबन्धलाई जीवनसंजाल भनिएको हो। गहिरिएर विचार गर्ने हो भने पनि ब्रम्हाण्डका कुनैपनि वस्तु एकअर्कोबाट अलग छैन। एउटाको अस्तित्व अन्यको अस्तित्वभित्र गडेर रहेको हुन्छ र एउटा वस्तुले अनेकौं वस्तुहरुको अस्तित्वलाईधारण गरेको हुन्छ।

पूर्वीय दर्शन र पुराणमा वर्णित अर्धनारीश्वरको आद्यबिम्ब, त्यसै विषयमा गरिएको वैज्ञानिक विश्लेषण र सिर्जनात्मक विश्लेषण हेर्ने हो भने पनि नर र नारी एउटै अस्तित्वको अभिन्न अभिव्यक्ति हो। भिन्न रुपले व्यक्त भएका यी दुइको संयोजनबाट अस्तित्वले निरन्तरता पाएको छ। युगौंदेखि पितृसत्ताको अभ्यास भएकोले प्रभुत्व जमाउनेमा पुरुष शारीरिक बल, पुरुष विचारधारा र पुरुष भाषालाई साधनको रुपमा प्रयोग गरी नारी अस्तित्वलाई नियन्त्रणमा राख्दै आएको छ। नारी पुरुषबीचको असन्तुलित एकल अस्तित्वको कृतिमतालाई त्यागेर केही व्यक्ति र समाज सह–अस्तित्वलाई अपनाउँदै आएका छन्। यस्तो चेतना जसले नारीपुरुष विपर्यायभन्दा पनि सहयात्रीको रुपमा स्विकारेको छ। तर नारी र पुरुषको भौतिक एवं मानसिक संबन्धलाई केलाउँदा एकले अर्कोको अस्तित्व धारण गरेको देखिन्छ। त्यसैले अवश्यपनि आजको लैंगिक समानता भोलिको दिगोपना हो। यौनिक भेदलाई लैंगिक विभेद नबनाऔं।

(लेखक आजीवन सिकाइ मण्डलामा आवद्ध हुनुहुन्छ)


प्रतिक्रिया दिनुहोस !
विचार