क्यान्सर रोग लाग्यो भनेर सुन्ने वितिक्कै विरामी आफैं आतिन्छन । पैसा पनि सकिने, ज्यान पनि जाने भनेर आफन्त, साथीभाई र नातेदारहरुले झन अत्याउँछन् । यस्तो बेलामा हौसला दिएर मनोवल बढाउने मानिस भेटिनु भनेको अध्याँरोमा वत्ति देखाउनु बराबर हो ।
क्यान्सरसंग लड्दै यसको उपचार गराईराखेका यस्ता थुप्रै विरामीहरुलाई ‘हौसला दिएर विरामीको मनोवल बढाएको’ भन्दै नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी संस्थापक निर्देशक स्वरुपा श्रेष्ठलाई क्यान्सर निको भईसकेका र क्यान्सरको उपचार गराईराखेका थुप्रै महिलाहरु मिलेर ‘हिराको हार’ उपहार दिएर सम्मान गरेका छन् ।
अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को अवसर पारेर नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा आयोजित २९औं सुदिप्त क्यान्सर सर्भाइभर मिट कार्यक्रममा स्वरुपालाई ‘उदाँउदो तारा’ अर्थात ‘साईनिङ्ग डाइमण्ड स्टार’ हिराको हारले सम्मान गरिएको क्यान्सर जितेर पुर्नजीवन पाएकी रेजिना मुल्मीले बताईन ।
चर्चित नायीका करिस्मा मानन्धर, पप गायीका अभया सुब्बा तथा वाल तथा भजन गायीका संगिता शाक्य थापाको उपस्थितिमा स्वरुपालाई क्यान्सर जितेका महिलाहरुले सामुहिकरुपमा हिराको हारले सम्मान गरेका हुन् । स्वरुपाले आफुलाई सम्मान गर्ने सबैलाई खादा ओढाएर सम्मानको खातिर गरेकी थिइन् ।
क्यान्सर लागेका विरामीहरुको सहयोगको लागि स्थापित गैरसरकारी संस्था नेपाल क्यान्सर सहयोग समूह र उपचारका लागि सहयोगी हातहरुमार्फत स्वरुपाले क्यान्सरका विरामीको उपचारमा सहयोग गर्नेदेखि ‘क्यान्सर पनि अरु रोगजस्तै सामान्य रोग हो, बेलैमा उपचार गरे निको हुन्छ, आत्तिनुपर्दैन’ भनेर विरामीको मनोवल बढाउने काम गर्दै आएकी छिन् ।

कार्यक्रममा नेपाल क्यान्सर सहयोग समूहको क्यान्सर उपचार कोषको लागि प्रमिला मानन्धरले शिवदास मानन्धर ‘सायमी’ उपचार कोषको लागि र रोज श्रेष्ठले रोज श्रेष्ठ उपचार कोषको लागि ५ लाख रुपैयाँ हस्तान्तरण गरीन् ।
कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका कार्यकारी अधयक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठले क्यान्सरको उपचारमा संलग्न नर्सहरुको साथै क्यान्सर र यसको उपचारबारे जनचेतना फैलाउन महिला दिदीवहिनीको योगदान अतुलनीय रहेको बताए ।
त्यस अवसरमा सम्मानित व्यक्ति स्वरुपा श्रेष्ठको साथै नायीका मानन्धर, पप गायीका सुब्बा तथा गायीका संगिता ले आफ्नो भनाई राखेका थिए भने क्यान्सर जितेका र उपचार गराईराखेका प्रमिला मानन्धर, रोज श्रेष्ठ, मन्जु राणा, कोपिला गौतम, शशांक शर्मा, सुनिता तुलाधरले बोलेका थिए ।





