Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

निर्मल निवास र नागार्जुन दरबारले सम्बोधन गर्नैपर्ने कुरा : डा. मनोज कुमार झा


अहिले पुरै विश्व नै तरंगित छ, रुस – युक्रेन युद्धको कारण विभिन्न शंका–उपशंका–त्रास को वातावरण सृजना भएर सम्पूर्ण मानवजाती नै आतंकित देखिन्छ । महाविनाशको भयले सबैको मन–मस्तिष्कमा घर गरेको यो विकराल अवस्थामा हालै संयुक्त राष्ट्र संघमा नेपालले देखाएको “निर्देशित भुमिका“ र होलिवाइनको प्रभाव र दबाबमा लादिएको नेपालको वर्तमान बाइबलीय ब्यवस्था जसलाई “संघीय लोकतान्त्रिक गणतन्त्र“ भनिएको छ त्यससँगै प्रत्यक्ष रुपमा आएको अमेरिकि सैन्य परियोजना “हिन्द–प्रसान्त रणनीती“ को अभिन्न अंग “MCC“ जसलाई नेपालको प्रतिनिधिसभाले केही सप्ताह पहिले मात्र संसदीय अनुमोदन गर्दै त्यसमा तप उर्जा भर्ने कार्य गर्नुको साथसाथै अमेरिकी नेतृत्वमा रहेको अर्को सैन्य गठबन्धन “NATO“ प्रतिको झुकावले आज नेपाल र नेपाली को भविष्य चिन्ताजनक अवस्थामा पु¥याएकै हो । जसको प्रमाण बेइजिङ र वासिङ्टन विच बिगत दुई महिनादेखिको “वाक–युद्ध“ र नेपालको राजनीतिक महलहरुमा देखिएको बाक्लो कुटनीतिक दबाबमूलक गतिविधिले सबै विषयवस्तु छर्लङ्ग बुझिन्छ ।

हुन त नेपालमा आजमात्रै वैदेशिक हस्तक्षेपले प्रभाव देखाएको हो भन्ने पक्षमा म बिल्कुलै छैन, यसको लामो इतिहास छ, जसको शल्यक्रिया फेरि अर्को दिन पक्कै पनि गरौंला तर आज म वर्तमान मै टेक्ने जमर्को गर्न चाहन्छु,

अहिले पनि नेपाल बि.सं. २०२० र सन् ज्ञढठद्ध कै घटनाक्रमको साईड–इफेक्ट को भुमरीमा छ, र बि.सं. २०२५ पछि हालसम्म देखिएका–देखाइएका–घटेका–घटाइएका सम्पूर्ण राजनीतिक, संवैधानिक, हिंसात्मक, हत्या–काण्डहरु, सत्ता उन्मुख घटन–दुरघटनाहरु त्यसकै योजनाबद्ध परिदृष्य हुन, जुन सन् २०३५ सम्म जारी रहनेछ, हामी मुकदर्शक भएर हेर्ने, भोग्ने, झेल्ने, पिल्सिने प्राय निश्चित छ । किनभने हामीले हाम्रो गौरवपूर्ण वीरगाथा इतिहासको पानामा नै सिमित गरेका छौँ, हामी मानसिक गुलाम, वैचारिक दास, आर्थिक उपनिवेश भईसकेका छौँ, अब हाम्रो आफनो भन्ने केही बाँकी नै रहेको छैन । त्यसैले अब हुने परिदृष्यहरुको औपचारिकता सम्भवतः सम्भावित आसन्न चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणमा पुरा हुनेछ ।

ढुक्क होऔं, अमेरिकी सेना औपचारिक रुपमा नेपाल कब्जा गर्ने रणनीतिका साथ नेपाल छिर्दैन, आवश्यकता पनि छैन, औपचारिक तथा अनौपचारिक रुपमा २४ घन्टा नै अमेरिकी सेना र भारतीय सेना सम्पूर्ण बन्दोबस्तीका साथ (अत्याधुनिक हातहतियार, उपकरण सहित) नेपालमा बिगत ७५ वर्षदेखि नेपालमा बस्दै आएको छ । तर, युद्ध नै लड्ने हिसाबकिताबले भारतीय सेना र चिनियाँ सेना नेपाल छिर्ने सम्भावनालाई नकार्न सकिँदैन, मुर्खता हुनेछ, देश – जनता – भावी पुस्ता र भविष्य प्रति बेइमानी हुनेछ ।
र, आज नेपाल र नेपालीको यस्तो दुरावस्था हुनुमा मात्रै राजनीतिक दल वा त्यसका नेतृत्व अथवा नेपाली जनता मात्रै दोषी पक्कै पनि छैनन् , यसमा अन्य पक्षहरु पनि उत्तिकै दोषी छन् , घरका मुली नै मुला भएपछि डकार गर्दा गन्हाउँछ नै ।

संसारका विभिन्न देशमा राज–संस्था पतनको आ–आफ्नै कारण एवं कारकहरु छन तर इतिहासलाई पल्टाएर हेर्दा सबै राजसंस्थाहरुको पतनका प्रमुख कारणहरुमा केही समानताहरु पक्कै पनि भेटिन्छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा, ब्यक्तिवादी एवं चरम अहमतावादी राजनीतिक सोच, चरित्र, प्रवृत्ति एवं संस्कारले ग्रस्त चण्ड–मुण्डहरुकोे प्रतिनिधित्व गर्ने मण्डले, कमण्डले र भाई–भारदारहरु एवं दरबारीया विभिषणहरुको अतिनै सुक्ष्म घेरामा रहँदै–बस्दै आएका छन् शाहवंशीय राज संस्था । अपत्यारिलो एवं नाटकीय रुपले संवैधानिक तवरले समाप्त भएको तथ्यलाई बुझ–पचाएका शाहवंशका उत्तराधिकारी राजा ज्ञानेन्द्र शाह राजनीति एवं ब्यापारका माहिर खेलाडी भएतापनि उनी कलयूगका धृतराष्ट्र नै हुन ।

२१ औं शताब्दीका देवरथ अर्थात भीष्म पितामह नै हुन भन्दा नमिठो लागेपनि यथार्थ यही नै हो ।

तत्कालीन नारायणहिटी राजदरबार भित्र सक्रिय भजन–मन्डलीहरुको झुन्ड र त्यसमै रमाइ बस्ने राजाको नाक, कान, मुख र मस्तिष्क कहलाउने र भनाउनेहरु कै निहित स्वार्थ एवं अदुर्दशिताको परिणाम राष्ट्रिय एकता, राष्ट्रिय पहिचान, राष्ट्रिय स्वाधीनताका प्रतीक २५० वर्ष पुरानो सक्रिय शाहवंशीय राज संस्था एकाएक इतिहासको पानामा सिमित हुन पुगेकै हो । नेपाल र नेपाली पहिचान बिहिन भई अन्तहिन शासकीय दुराचक्रको गणेश परिक्रमामा धकेलिन बाध्य पारिएकै हो ।

एकताका राजा–रानीलाई ईश्वरीय अवतार मान्ने र पालनहार, न्यायमुर्ती, प्रजावत्सल, धर्म–शिरोमणि, समानता एवं उदारताको प्रतीक, विकाशका पथ–प्रदर्शक तथा माता–पिता तुल्य मान्दै ‘श्रीमान गम्भीर नेपाली, प्रचण्ड प्रतापी भूपति ’राष्ट्रगान हरेक नेपालीको मन–मस्तिष्कमा गुन्ज्यमान थियो । राजा र राजसंस्थाका लागि जेपनि र जसरी पनि गर्न तमतयार रहने आम नेपाली आज नेपालबाट विधिवत रुपमा राज–संस्थाको अन्त्य हुँदा चुँईक्क पनि बोलेनन् र विगत डेढ दशकमा पटक–पटक विभिन्न अवसरमा राजा ज्ञानेन्द्रले देश र जनतालाई पुकार लगाउँदा पनि कोही कतैबाट काँध थाप्ने भएनन् ।
किन राजा ज्ञानेन्द्रले अत्यन्तै गम्भीर भएर आत्म–चिन्तन गर्नैपर्ने देखिन्छ ? हुन त राजा ज्ञानेन्द्रको धार्मिक, पारिवारिक एवं ब्यक्ति देश–दौडाहा, देश–दर्शन र भ्रमणहरुमा जनताको उल्लेख्य भिडभाड देखिन्छ तर त्यसको आन्तरिक र बाहिरी पक्ष अत्यन्तै भिन्न छ, वास्तविकता अत्यन्तै निर्मम छ । यदी त्यही भिडभाड देखेर वा देखाईएर राजालाई विश्वस्त एवं आश्वस्त पारिदैछ वा राजा स्वयं दंग परेर फुरुङग भएका छन् भने त्यो उनका लागि निकै मुर्खतापूर्ण सावित हुने निश्चित छ ।

नेपालमा राष्ट्रभक्त शक्ति भनेकै सिमामा बस्ने वा दुर्गम गाउँमा बस्ने राज्यबाट उपेक्षित, अपहेलित, बञ्चित, उत्पीडित आम मुक्तिकामी नेपाली जनता र राज–संस्था नै हो, यस तथ्यलाई नकार्न सकिन्न । अहिले पनि आम नेपाली जनताको मन–मस्तिष्कमा राज–संस्थाप्रति अगाध माया, विश्वास, भरोसा देखिन्छ तर वर्षौंदेखि कब्जा जमाएर बसेका राजाका वरिपरिका ब्यक्ति र ब्यक्तित्वप्रती नकारात्मक सोंच र भावना पनि उत्तिकै पाईन्छ ।

आम जनताको भावना राजा प्रतिको हो उनीहरु राजसंस्था पुनःस्थापना चाहन्छन् न कि राजाका आसेपासे, कुरौटे, भरौटे, मण्डले, भाइ–भारदार, दरबारीयालाई नेपालको शासन–सत्तामा काबिज गर्न वा प्रधानमन्त्री, मन्त्री, सन्तरी बनाउन बलिदान दिन तैयार देखिन्छन् । र, यो उपयुक्त एवं ब्व्वहारिक पनि हो ।

आम देशभक्त नेपाली नागरिक नयाँ नेतृत्व खोज्दैछन् जसले सम्पूर्ण बेथितिहरुको स्थायी समाधान गर्न सक्षम होस । देश र जनतालाई नयाँ बिहानीको प्रत्याभूति दिलाउन नेतृत्वदायी भुमिका खेल्न सकोस् । तर राजा अहिले पनि आँखा, कान, मुखमा कालो पट्टी बाँधेर उही पुरानै गीत गाएर बसेका छन, जहाँ जनता सम्पूर्ण क्रान्ति र परिवर्तन खोज्दैछन् त्यहीँ राजा परम्परागत बोली, व्यबहार, ब्यक्तिहरुलाई निरन्तरता दिन तल्लीन देखिन्छन् । हो त्यही कारण राजा जति पनि आह्वान र अपिल गरेपनि जनता सडक तताउन उत्सुक देखिदैन्न, अनिच्छुक छन् ।

आखिर हो पनि, किन राजाले तोकिदिएका ब्यक्तिको नेतृत्व स्वीकार गर्ने त आम जनताले ? आखिर तिनीहरुको लगानी के त ? देश र जनतका लागि के नै गरेका छन् ? स्वार्थसिद्धीमा लिप्त, बिचार र सिद्धान्तले दरिद्र, भष्मासुर प्रवृत्तिका अनुयायीहरुको पछि पछि किन ? चरम नश्लीय चिन्तनले ग्रस्त नितान्त ब्यक्तिवादीहरुलाई किन नेता र नेतृत्व मान्ने त ? यी यावत प्रश्नहरु छन आम नेपालीको, जसलाई निर्मल निवास र नागार्जुन दरबारले सम्बोधन गर्नैपर्ने देखिन्छ नभए जसरी राज–संस्था नेपालको इतिहासको पानामा सिमित हुन पुग्यो त्यसरी नै राजसंस्था पुनःस्थापनाको मुद्दा सपना मै सिमित हुन निश्चित देखिन्छ ।

नेपालको वर्तमान राजनीतिक, सामाजिक, धार्मिक अवस्था र राजनीतिक नेतृत्वको बोली, ब्यवहार, आचरण, प्रवृत्ति एवं अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपालप्रतिको अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको चलखेल तथा स्वार्थहरुको सुक्ष्म अध्ययन, अनुसन्धान, विश्लेषण एवं विवेचना गर्दा स्पष्ट हुन्छ कि वर्तमान संविधान, ब्यवस्था, ब्यवस्थापन र ब्यवस्थापकको अवसान निकै छिटो चाहन्छन् सबै । तर, विकल्प दिन हामी आफै असक्षम–असमर्थ सावित हुँदै गएका छौँ ।

नेपालमा राज–संस्था पुनः स्थापना अपरिहार्य देखिन्छ र यसमै सबैको कल्याण छ । तर, त्यससँगै राजा ज्ञानेन्द्रको सचिवालय देखि तिनका सुरक्षामा खटिएका निजी तथा सरकारी सुरक्षाकर्मी र सुरक्षा संयन्त्रमा रहेका विदेशी खुफिया एजेन्सीका सुराकी, सुचना संवाहक, गुप्तचरहरुको जालो कै कारण कहिँ कतै राजा ज्ञानेन्द्र पछि नेपालको राज–संस्थाका उत्तराधिकारी युवराज हृदयन्द्रको पालामा राजसंस्था र नेपाल नेपाली माथी फेरि ठूलै षड्यन्त्र त हुने होईन ? भन्ने गम्भीर प्रश्न पनि उब्जेको छ ।

नेपालबाट राजसंस्था सधैका लागि बहिर्गमन हुनेछ र नेपाल र नेपाली विदेशीका गुलाम भएर बस्नुपर्ने बाध्यता हुने निश्चित छ । त्यसकारण राजा ज्ञानेन्द्र गम्भीर हुनैपर्ने देखियो, सचेत एवं निर्णायक कदम चाल्नै पर्ने देखिन्छ । परिवर्तन एवं अग्रगमनलाई आत्मसात गर्दै नयाँ नेतृत्वलाई अगाडि सार्दै जनचाहना अनुसार अगाडि बढ्नु नै राजा ज्ञानेन्द्र, देश र जनताका लागि हितकर देखिन्छ ।

( लेखक जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्र बचाउ अभियान तथा राष्ट्रिय जनतान्त्रिक गठबन्धन र राष्ट्रिय नागरिक आन्दोलनका राष्ट्रिय संयोजक हुन् । )


प्रतिक्रिया दिनुहोस !
विचार