नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पार्टीसँग पार्टी एकता नहुने प्रस्ट पारेका छन् । अहिले बाहिर अरूसँग एकता हुन्छ भनेर हल्ला चलाइएको भन्दै त्यस्तो एकता कसैसँग नहुने र आफूहरू आफ्नै शक्तिले अगाडि बढ्ने उनले बताए ।
नेपालले आफूहरू अब एमाले अध्यक्ष केपी ओलीको बारेमा टिप्पणी गरेर समय बर्बाद गर्ने पक्षमा नरहेको बताए । मार्क्स र कम्युनिस्ट गुरुहरूले गफ गर्ने, ढाँट्ने, मानमर्दन गर्ने र छल्ने नभई इमान्दार भएर जनताको सेवा गर्ने संस्कार सिकाएको उनको टिप्पणी छ ।
आइतबार एकीकृत समाजवादी कास्कीले आयोजना गरेको विचार–गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताले विश्वास गरेर झन्डै दुईतिहाइ मत दिँदादिँदै पनि संसद् र पार्टीलाई यो अवस्थामा ल्याउनेलाई जनताले नै सजाय दिने उनको भनाइ थियो । एमाले र देशको अवस्था किन यस्तो भयो भन्ने सोच्ने वेला भएको भन्दै उनले आफूहरूले नयाँ पार्टी निर्माण गर्नुको औचित्य पुष्टि गर्नुपर्ने बताए ।
नेपालले भने‘हावादारी गफ गर्ने बद्ख्वाइँ गर्ने हामीलाई फुर्सद छैन । हामीले काम गरेर देखाउनुपर्नेछ । नयाँ पार्टी स्थापनाको औचित्य पुष्टि गर्नुपर्नेछ।’





