
चरम आर्थिक संकटबाट गुज्रिरहेको देश श्रीलंकाका सबै मन्त्रीहरुले राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापक्षे बाहेकका सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आर्थिक संकटसँग जुधिरहेको श्रीलंकामा केही समययता सरकारले नागरिकको विरोध थाम्न सकेको छैन । सरकारको गलत नीतिका कारण आफूहरु मर्कामा परेको भन्दै नागरिकहरु विरोधमा उत्रिएपछि सरकारले कफ्र्यू लगाएको छ भने कफ्र्यू समेत तोडेर प्रदर्शन हुन थालेपछि मन्त्रीहरु राजीनामा दिन बाध्य भएका छन् ।
त्यहाँ भोकमरीका कारण लुटपाटका घटना दिनहुँ बढिरहेका छन् । बच्चाले खाने १ लिटरका दूधको मूल्य २ हजार रुपैंयाँ नाघेको छ भने एक केजी चामल किन्न ५ सय रुपैंयाँ भन्दा बढी खर्च गर्नुपर्ने अवस्था छ । तैपनि जनताले सहज रुपमा खाद्यान्न लगायतका सामग्री पाउन सक्दैनन् ।