Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

शंखमुलका किसलाल ‘बा’ को देवरथारोहण हेर्न ओइरियो ज्यापू समुदाय


बलराम प्यासी
ललितपुर, ३० चैत । नेवारी संस्कृति र परम्परा अनुसार घरमुलीको उमेर ७७ वर्ष ७ महिना ७ दिन पुगेपछि पहिलो जन्कु अर्थात भिमरथारोहण र ८२ वर्ष ४ महिना ४ दिन पुगेपछि दोस्रो जन्कु अर्थात चन्द्ररथारोहण गरिन्छ ।

त्यसैगरि ८८ वर्ष ८ महिना ८ दिन पुगेका जेष्ठ नागरिकहरुलाई त झनै भगवानको रुप मानेर उनीहरुको देवरथारोहण गराइन्छ । नेवारी संस्कृतिमा जन्कु मनाउने उमेर अर्थात ७७ वर्ष ७ महिना ७ दिन काटिसकेका सबै व्यक्तिलाई भाग्यमानी, दीर्घजीवि र ज्युँदो देवता नै मानिन्छ । उनीहरुको दर्शन मात्रै गरेमा पनि भाग्यमानी, सुखी र स्वस्थ भइन्छ भन्ने मान्यता छ ।

ललितपुर महानगरपालिका वडा नं ९ गःछें टोलमा जन्मेर हाल काठमाण्डौको यंतापौ टोल, शंखमुलका पुराना किसान, समाजसेवी, धार्मिक व्यक्तित्व किसलाल महर्जनको बुधबार देवरथारोहण गरियो । ८८ वर्ष ८ महिना ८ दिन पुगेर पुरेतले साइत जुराएपछि २०७८ सालको अन्तिम दिन अर्थात चैत ३० गते उनको तेस्रो जन्कु अर्थात देवरथारोहण गरियो ।

टोलबासीको ‘बा’ को रुपमा परिचित किसलालको साथमा उनकी पत्निद्वय नानीमाया र न्हुच्छेमायाको पनि तेस्रो जन्कु गरिएको हो । नानीमाया ८८ वर्ष ८ महिना उमेर पुगि सकिन तथापि न्हुच्छेमाया भने ८७ वर्ष मात्र पुगिन् । घरमुलीको उमेर जन्कु गर्न योग्य भएपछि सोही अवसरमा उनकी पत्निको पनि जन्कु गर्न मिल्ने वरिष्ठ इन्जिनियर रवि जोन्छे बताउँछन् ।

किशलाल महर्जन, नेपालको इतिहासमा परम्परागत इँटा उत्पादन गर्ने ३५ वर्ष पुरानो श्री दक्षिण वाराही इँटा उद्योग दधिकोट र ॐ श्री मच्छिन्द्रनाथ इँटा उद्योगलगायतका संस्थापक पनि हुन् । गोरखाको मनकामना मन्दीरको साथै विभिन्न नयाँ मठमन्दीर बनाउन र पुराना मन्दीर, पाटीपौवा जिर्णाेद्धार गर्न चन्दा दिँदै आएका दाता किसलाल धिमें, बाँँसुरीलगायत नेवारी बाजाका संरक्षक र गुरु पनि हुन् । त्यसैले उनको जन्कुमा उनले सिकाएका गःछें मंका खलः, धिमय खलः र च्वबुटोल गाःहिटी मंका खलःका धिमे र बाँसुरीवादकहरु परम्परागत नेवारी पोशाकमा सहभागी भएर जन्कुलाई आर्कषक र सांगितिक बनाएका थिए ।


शंखमुल, यंतापौ टोलस्थित ज्यापु निवास (जन्कु घर) बाट किसलाल ‘बा’ र दुईजना आमा नानीमाया र न्हुच्छेमायाको जन्कु गरिरहँदा संयुक्त परिवारमा रहेको उक्त परिवारका जेठा छोरा÷बुहारी नाति महर्जन र राममाया महर्जन, माइला छोरा÷बुहारी तिर्थलाल र चन्द्रकुमारी मर्हजन, साँहिला छोरा÷बुहारी हिराकाजी र ज्ञानी महर्जन तथा कान्छा छोरा÷बुहारी विक्की र मिना महर्जन सहभागी थिए ।

यसैगरि तीनजना छोरीहरु योमाया महर्जन, कृष्णमाया महर्जन र सानुमाया महर्जन र ज्वाँईहरु पनि जन्कुमा सहभागी थिए । यसैगरि नाति नातिनीहरु रमेश, राजमान, विश्व, प्रमिता, एलिसा, विकास, पासा, प्रमिला, विशान र विनीशा पनि जन्कुमा व्यस्त थिए ।

किसलाल ‘बा’ को जन्कुका उवसरमा उनका पनातिद्वय कृभान (विश्व र कृपा महर्जनको छोरा) र आयुन्स (विकास र सुनिता महर्जनको छोरा) व्रतवन्ध र पनातिनी निष्ठा महर्जन तथा पञ्चलाल महर्जनको नातिनी अनिल महर्जनको छोरी सन्सा महर्जनको वेलविवाह गरिएको थियो ।

नेवारी संस्कृति र परम्परा अनुसार पुजाआजा गरेर विशेष किसीमले सजाएको तीनवटा अगल अलग रथमा किसलाल ‘बा’ का साथै उहाँकी पत्निद्वय नानीमाया र न्हुच्छेमायालाई राखेर उनीहरुका छोरा÷बुहारी, नाति÷बुहारी, नातिनी, पनाति ÷पनातिनीले तानेका थिए । देवरथारोहण गरिएका तीनवटा रथ अगाडि पछाडि धिमें, बाँसुरी बजाएर नेवारी परम्परा अनुसारको पोशाक लगाएर शंखमुल र ललितपुरका सयौंको संख्यामा ज्यापु समुदायका महिला पुरुष नाच्दै हिँडेका थिए । देवरथारोहण कमैमात्रामा देखिने भएकोले बाटोभरी रथयात्रा हेर्न ललितपुरका ज्यापु समुदयादेखि वटुवासम्म दंग परेर हेर्दै थिए ।


जन्को घर (ज्यापु निवास) बाट शुरु भएको देवरथारोहण कार्य यंतापौ गणेश मन्दीर हुँदै गणेश मार्गको चारदोवाटो, शंखमुल पुल, चामुण्डा माई, सैथु गणेश, वैलाछें, तुंचा, तासिको, गाःहिटी, कोवहाल, बंगलामुखी, झातापोल, क्वाल्खुचोक, पटको, भिन्द्यो, मंगलबजार, हौगल टोल, चुकवहा द्यो,वुन्द्यो –मच्छिन्द्रनाथ तःवहाल हुँदै फेरी जन्कु घरमा फर्किएर टुंगिएको थियो ।

जन्को घरको एकतल्ला माथिको झ्यालबाट घरभित्र प्रवेश गराई विधिपुर्वक पुजाआजा गरिएपछि शंखमुलस्थित यलः दरवार भेन्यू (पार्टी प्यालेस)मा लगेर नेवारी परम्परा अनुसारको भोज गराईएको थियो । त्यहाँ देवराथारोहण गरेका मर्हजन दम्पत्तिबाट सर्वसाधारण र आफन्तजनले आशिर्वाद र टिका ग्रहण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार