नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले कर घटाएर वा हटाएर भए पनि बढ्दो पेट्रोलियमको मूल्य समायोजन गर्नुपर्ने बताएका छन् ।
“प्रत्येक भान्साबाट विद्रोह हुने हो कि भनेजस्तो परिस्थिति बन्दैछ । दिन प्रतिदिन बढेको महंगीका कारण जनता आजित हुने परिस्थिति बनेको छ । यसको सामना हामीले गर्नुछ”, सरकारको नीति तथा कार्यक्रमका बारेमा शनिवार संसदमा बोल्दै उनले भने, “पेट्रोलियम पदार्थमा जुन कर लगाउने गरिएको छ । त्यो कर घटाएर, हटाएर जसरी हुन्छ भए पनि जनतालाई राहत दिने कुरामा सरकारको ध्यान जाओस् ।”
पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर भए पनि मूल्यबृद्धि नियन्त्रण गर्न प्रधानमन्त्रीलाई भेटेर अस्ति नै आग्रह गरेको जानकारी पनि उनले दिएका छन् ।
विभिन्न कारणले देशको आर्थिक अवस्था सहज परिस्थितिमा नभएको बताउँदै यसको सामना कुनै एउटा राजनीतिक दलले मात्रै गर्न नसक्ने उनले बताए । उनले भने, “यसको सामना एउटा राजनीतिक दल विशेषले र सरकारले मात्रै पनि गर्न सक्दैन । तर मुख्य दायित्व सरकारकै रहन्छ ।”
“महंगीको मारले नेपाली जनताको ढाड सेकिएको छ ।” प्रचण्डले भने, “हामीले यसलाई गम्भीर रूपले लिन सकेनौं भने जनतामा असन्तुष्टि र आक्रोश झन् बढ्छ र त्यसले संकट झन् गम्भीर हुने खतरा छ ।”





