Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

गोकर्णेश्वर महादेवेश्वरी सहकारीको विधिवत उदघाटन, मन्त्रीदेखि मेयरसम्मले के भने ?


काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको गोकर्णेश्वर महादेवेश्वरी बहुउदेश्यीय सहकारीको विधिवत उदघाटन भएको छ ।

बुधबार दक्षिणढोकास्थित नर्लिङ रिसोर्टमा आयोजित एक विशेष समारोहकाबीच सहकारीको वागमती प्रदेशका गरिबी निवारण तथा सहकारी मन्त्री बलराम पौडेलले उदघाटन गरे ।

उदघाटन समारोहमा बोल्दै मन्त्री पौडेलले सहकारी गरिबी निवारणको महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै यसलाई सोही अनुसार अघि बढाउनुपर्नेमा जोड दिए । आर्थिक पारदर्शीता र अनुशासनको मामलामा सहकारीहरु चुक्न नहुने भन्दै उनले वागमती प्रदेशभित्रका सहकारीहरुको उत्थानका लागि मन्त्रालयले ठोस काम गर्ने बताए । आफ्नो कार्यकाल अब धेरै नरहेको भन्दै उनले मंसिरसम्म सहकारीका क्षेत्रमा व्यापक परिवर्तन ल्याउने दाबी गरे ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नगरपालिकाभित्रका सहकारीहरुसँग सहकार्य गरेर नगरपालिका अघि बढ्न तयार रहेको बताए । यस्तै निवर्तमान मेयर सन्तोष चालिसेले आफ्नो कार्यकालमा नगरपालिकाले गरिबी निवारणका लागि सहकारीहरुसँग मिलेर धेरै काम गर्न खोजेको भएपनि जनताको न्यून सहभागिता देखेर आफू आश्चर्यचकित भएको बताए ।

गोकर्णेश्वर बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष बलराम खतिवडाले आफूले नेतृत्व गरेको सहकारीमा आर्थिक अनुशासन र पारदर्शीता पहिलो प्राथमिकतामा रहने बताए । सहकारीका शेयरधनी र बचतकर्ताहरुको हित प्रतिकुल हुनेगरी आफ्नो टीम अघि नबढ्ने भन्दै उनले सत् उद्देश्यका साथ आफूहरु सहकारी सञ्चालनमा अग्रसर भएको बताए ।

 

कार्यक्रममा पूर्व सांसद दीपक कुइँकेल सहित विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !
विचार