काठमाण्डौ, २७ जेठ । १२ कक्षाको पढाई सकेर विदेशिन चाहने र स्नातक सकेपछि मात्रै केही गरुँला भन्ने विद्यार्थीलाई वैज्ञानिक महावीर पुनले स्कुल पढ्दादेखि नै उद्यमशील र सिर्जनशील बन्न सुझाव दिएका छन् ।
राष्ट्रिय आविश्कार केन्द्रका संस्थापक समेत रहेका मिनी नोवेल पुरस्कारको रुपमा परिचित ‘रोमन म्यागासासे पुरस्कार’ विजेता आविश्कारक पुनले शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलमा शुक्रबार आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई सुझाव दिएका हुन् ।
संयुक्त अधिराज्य बेलायतको शैक्षिक कार्यक्रम ‘स्कुल इन्टरप्राइज च्यालेन्ज प्रतियोगिता—२०२२’ मा दोस्रो भई रजत पदक विजेता बेबिलोन नेशनल स्कुलका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै आविष्कारक पुनले हरेक विद्यार्थी विद्यालय जीवनदेखि नै उद्यमशील र सिर्जनात्मक भएमात्र जागीरको लागि कतै भौंतारिन नपर्ने र भविष्यमा सफल व्यवसायी बन्न सक्ने बताए ।

‘सकभर अरुको काम गर्ने होइन, आफैं उद्यमी बनेर नयाँ व्यवसाय सिर्जना गरी अरुलाई रोजगारी दिँदै देशको अर्थतन्त्रमा टेवा पुर्याउन सकिन्छ, पुनले भने ।
‘सकभर आफैं उद्यमशील बन्नु, सकिएन भने मात्रै जागीर खोज्नु’—उनले भने । आफ्नो इच्छा र रहरले गरेको कामले नै मानिसलाई सफल उद्यमी बनाउन सघाउने भन्दै पुनले कुनैपनि व्यक्ति उद्यमी भएमा उसले देशको सामाजिक र आर्थिक क्षेत्रमा टेवा पुर्याउन सक्ने बताए ।
विद्यार्थीहरुसंगको अन्तरसंवाद कार्यक्रमलाई सम्वोधन गर्दै पुनले अमेरिका र युरोप वाइफाई राउटरको आविश्कार गर्न लागेको बेलामा आफुभने नेपालको विकट र दुर्गम ठाउँमा ताररहित इन्टरनेट सेवा विस्तारको लागि शक्तिशाली राउटरको अनुसन्धानमा लागेको पनि बताए ।

आविश्कारक पुनले ‘स्कुल इन्टरप्राइज च्यालेन्ज प्रतियोगिता—२०२२’ का विजेता बेबिलोन नेशनल स्कुल, प्रिन्सिपल राजु राई, संयोजक अनिता सिग्देलका साथै विद्यार्थीहरुलाई सो पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बेबिलोन फाउण्शेनका अध्यक्ष तेज बहादुर राईले ‘स्कुल इन्टरप्राइज कार्यक्रम’ले विद्यार्थीलाई पढ्दै उत्पादनशील कार्य गर्ने वातावरण बनाईदिएको बताए । विद्यार्थी प्रकृति कुमारी साहले ‘स्कुल इन्टरप्राइज च्यालेन्ज प्रतियोगिताबारे बताएकी थिइन् ।
विद्यालय शिक्षाको साथसाथै स्कुलमै विद्यार्थीलाई सानोतिनो शीपमार्फत व्यवसाय पनि गर्न सिकाउने शिक्षा नै ‘स्कुल इन्टरप्राइज कार्यक्रम’ हो ।

बेबिलोन नेशनल स्कुलका विद्यार्थीले खेर गएका पत्रपत्रिका र कागजलाई पुर्नप्रयोग गरि पेन्सिल होल्डर बनाई त्यसलाई शिक्षक र अभिभावकलाई विक्री गरेर आयआर्जन गरि प्रतियोगितामा दोस्रो भई बेलायतबाट रजत पदक जितेको कार्यक्रमकी संयोजक अनिता सिग्देलले बताइन् ।
यसअघि तिनै विद्यार्थीले पुराना तर पठनयोग्य पुस्तकको विक्रीबाट र स्कुलकै छतमा ड्रागन फलको विरुवा रोपेर आयआर्जन गरि काँस्यपदक जितेका थिए ।






