नेपाल र थाइल्याण्डबीच विभिन्न हस्तकला सम्बन्धि कला शील्प तथा प्रविधी आदान प्रदानको उद्देश्यका साथ थाइल्याण्डका राजदूत र नेपाल हस्तकला महासंघका पदाधिकारीबीच भेटावार्ता भएको छ ।
बुधबार नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासाफ र हस्तकला महासंघका पदाधिकारीबीच महासंघको कार्यालयमा भेटवार्ता भएको हो । राजदूत भोरासाफ, उनकी श्रीमति र थाइल्याण्डको शाही राजदूतावासका नियोग उपप्रमुखलाई हस्तकला महासंघका अध्यक्ष सहितका पदाधिकारीले महासंघको कार्यालयमा स्वागत गरे ।
भेटवार्ताका क्रममा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले थाइल्याण्डको बैंककमा वर्षेनी आयोजना हुने जेम एण्ड ज्वेलरी सो जस्ता हस्तकला व्यापार मेलामा नेपालका हस्तकला उद्यमी व्यवसायीलाई सहभागी गराउँन राजदूतसँग आग्रह गरे । यस्तै महासंघको वाणिज्य क्षेत्रका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले थाइल्याण्डमा नेपाली हस्तकलाको बजार प्रबद्र्धनका लागि थाइल्याण्ड सरकारले नेपाली वस्तुहरुको निर्यातमा लगाएको भन्सार महशुलमा ध्यान दिन आग्रह गरे । साथै उनले नेपाली सम्पदाहरुको निर्माणका लागि थाइल्याण्ड सरकारबाट आफूहरुले विशेष अपेक्षा गरेको बताए ।
भेटवार्ताका लागि महासंघको कार्यालयमा नै आएकोमा महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले राजदूत नेतृत्वको टोलीलाई धन्यवाद दिए ।
हस्तकला महासंघका पदाधिकारीसँगको भेटवार्तापछि थाइल्याण्डका राजदूत भोरासाफले ललितपुरको कनिबहाल र ओकुबहालका कलाकार तथा कालीगढहरुको कार्यशालामा धातुपाता एवं मैनबाट गरिने धातुकला ढलाई सम्बन्धी कामको अवोलोकन गरेका थिए ।




