Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

चीनका लागि नेपाली राजदूतलाई हस्तकला महासंघको बधाईसँगै यस्तो आग्रह


नेपाल हस्तकला महासंघले चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई महासंघको कार्यालयमा स्वागत गर्दै बधाई ज्ञापन गरेको छ ।

महासंघका अध्यक्ष प्रचण्ड शाक्य सहितका पदाधिकारीले राजदूत श्रेष्ठलाई महासंघको कार्यालयमा स्वागत गर्दै बधाई ज्ञापन गरेका हुन् । राजदूत श्रेष्ठलाई बधाई ज्ञापन गर्दै महासंघका अध्यक्ष प्रचण्ड शाक्यले चीनबाट नेपालमा सामान भित्रने मुख्य नाकाहरु नियमित रुपमा नखुल्दा हस्तकला वस्तुको निकासी प्रभावित भएको बताउँदे त्यसमा चीन सरकारको ध्यानाकर्षण गराउँन आग्रह गरे । ठूलो जनसंख्या र श्रोत साधन सम्पन्न चीन नेपाली हस्तकलाको ठूलो बजार हुँदा हुँदै पनि चीन सरकारको उच्च भन्सार दरका कारण नेपाललाई मर्का परेको उनले राजदूत श्रेष्ठलाई जानकारी दिए । त्यस्तै चीनको कुनै पनि बैंकका शाखा नेपालमा नहुँदा चीनका विभिन्न शहरहरुमा हुने अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनीहरुमा भाग लिई आर्जन गरेको विदेशी मुद्रा समेत बैकिङ्ग च्यानल मार्फत ल्याउन समस्या भएको अध्यक्ष शाक्यले बताए ।

यस्तै महासंघका निवर्तमान अध्यक्ष सुरेन्द्र भाई शाक्यले चीनमा रहेको नेपालको राजदुतावासमा नेपालका ४२ विधाका नेपाली हस्तकला झल्कने वस्तुहरुको प्रदर्शनी कक्ष राख्नु पर्नेमा जोड दिए । राजदूत श्रेष्ठलाई महासंघको कार्यालयमा स्वागत गर्दै उपाध्यक्ष दिपेन्द्र शाक्यले छिमेकी राष्ट्र चीनमा नेपालका परम्परागत हस्तकलाका वस्तुहरुको उत्पादन तथा निर्यातको परिमाण बढाउन चीनको आधुनिक प्रविधि तथा उपकरणहरुको आवश्यकता रहेको बताए ।

महासंघका वाणिज्य तर्फका उपाध्यक्ष दिल्ली रत्न तुलाधरले उपयुक्त अन्तर्राष्ट्रिय भुत्तानी प्रकृया Payment Gateway नभएको हुँदा समस्या भएको राजदूत श्रेष्ठलाई जानकारी गराए । उनले महासंघबाट क्यालेण्डर इभेन्टको रुपमा गर्दै आएको हस्तकला व्यापार मेला यो वर्ष पनि नोभेम्बर महिनामा गर्न लागिएको र सो मेलामा राजदुतावास मार्फत चीनबाट क्रेता तथा व्यापारीहरुको सहभागिता जुटाइदिन आग्रह गरे ।
यस्तै महासंघका अर्का उपाध्यक्ष नविन शाक्यले चीन र नेपाल बीच विभिन्न कला, कौशल, प्रविधि आदान प्रदान गर्न Craft Exchange Program अन्तर्गत अध्ययनको व्यवस्थाका लागि पहल गर्न आग्रह गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले चीनमा विभिन्न हस्तकलाका वस्तुहरु निर्यात गर्दा चीन स्थित भन्सार विन्दुहरुमा सहजिकरण गर्नु पर्ने कुरामा जोड दिए ।

महासंघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको कुरा सुनेपछि नव नियुक्त राजदुत विष्णु पुकार श्रेष्ठले नेपाल सरकार, चिनिया सरकार, उद्यमी व्यवसायी लगायत सबै सरोकारवालाहरुको साथ सहयोग लिएर आफूले चीनमा व्यापार सहजिकरणका लागि सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार