Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

हस्तकला महासंघका पदाधिकारी र नर्वेका राजदूतबीच भेटवार्ता


नेपाल हस्तकला महासंघका पदाधिकारी र नेपालका लागि नर्वेका राजदूतबीच भेटवार्ता भएको छ ।

बुधबार हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य र उपाध्यक्ष दिल्ली रत्न तुलाधरले नेपालस्थित नर्वे दुताबासमा नर्वेका राजदूत टोरुन् ड्रमडलसँग भेंटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा नेपालका हस्तकलाका सामानहरु नर्वे निकासीका विषयमा कुराकानी भएको बुझिएको छ । हाल नेपालका सामानहरु नर्वे निकासी भएको अवस्था खासै नरहेकाले कसरी निकासी बढाउँन सकिन्छ भन्ने बारेमा कुराकानी भएको बताइएको छ । यो वर्ष नेपाल हस्तकला महासंघले स्वर्णवर्ष मनाइरहेको र स्वर्णवर्षको अवसर पारेर दुई देशबीच हस्तकला क्षेत्रलाई टेवा पुग्नेगरी काम गरौं भन्ने प्रस्ताव सो अवसरमा महासंघका अध्यक्ष शाक्यले राखेका थिए ।

यस्तै महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले दुई देशबीचको व्यापारमा कम बिकसित राष्ट्रलाई नर्वेले दिँदै आएको सहुलियतको प्रशंसा गरे । हस्तकलाको निर्यात बढाउन हाल REX सुबिधाले नर्वे निकासीका लागि सहयोग पुगेको तर, निकासी नगण्यमात्रामा भएको बताउँदै उनले अन्य थप पहलकदमीका लागि राजदूतसँग आग्रह गरे । यस्तै नर्वेमा हुने मेलामा नेपालको हस्तकला व्यापार वृद्धिका लागि नेपाललाई पनि सहभागि गराउँन उनले राजदूतलाई आग्रह गरे । नेपालमा हस्तकलाका दक्ष कलाकारहरु रहेको जनाउँदै उनले निकासीमा नर्वेले सहयोग गर्दा कलाकारहरुको स्वरोजगारमा मद्धत पुग्ने धारणा राखे । गत बर्ष महासंघले आयोजना गरेको १८ औ हस्तकला मेलामा राजदूतको उपस्थितिप्रति आभार व्यक्त गर्दै उपाध्यक्ष तुलाधरले अन्य मेलामा पनि महासंघले राजदूतको उपस्थितीको अपेक्षा गरेको बताए ।

भेटवार्ताका क्रममा राजदुत ड्रमडललाई महासंघका अध्यक्ष शाक्यले मायाको चिनो स्वरुप नेपाली कागजको फ्रेममा मण्डला थान्का उपहार प्रदान गरेका थिए भने उपाध्यक्ष तुलाधरले मकैको खोस्टाबाट बनेको सजावटयुक्त फूलको गुच्छा दिएका थिए ।

महासंघका पदाधिकारीहरुको कुरा सुनेपछि राजदूत ड्रमडलले नेपालको हस्तकला क्षेत्रको विकासका लागि नर्वे सरकारले सकेको सहयोग गर्ने वचन दिएको महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले आजको प्रेस डटकमलाई जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार