ललितपुर, ३० असार । ललितपुरका ज्यापुहरुको संगठन, ज्यापु समाज ललितपुरले गुरु पुर्णिमाको अवसरमा यल दरवारमा आयोजित एक भव्य कार्यक्रममा ललितपुर महानगरको ४० टोलका २५२ जना वाद्य गुरुहरुलाई नगद सहित सम्मान गरेको छ ।
ज्यापु समाज ललितपुरले आफ्नो स्थापनापछि आयोजना गरेको यो दोस्रो ठुलो सम्मान कार्यक्रम हो । समाजले २५ वर्षअघि अर्थात २०५४ सालमा त्यतिखेरका वाद्य गुरुहरुको सम्मान गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, ज्यापु समाजका अध्यक्ष तीर्थलाल महर्जन, संघीय सांसद कृष्णलाल मर्हजन, अर्का सांसद चन्द्र महर्जन, ज्यापू समाजका पुर्व अध्यक्षहरु कुललाल डंगोल, वीर सिंह महर्जन, रामकाजी अवाले, मंगल मर्हजन र प्रेम महर्जन लगायतले वाद्य गुरुहरुलाई सम्मान गरेका हुन् ।
उनीहरुले कार्यक्रममा उपस्थित भएका १ सय ६० जना वाद्य गुरुहरुलाई टोपी, फेटा, टीका, दहि सगुन, माला, दोसल्ला, सम्मानपत्र र नगद १ हजार १११ गुरु दक्षिणा दिएर सम्मान गरेका थिए । कार्यक्रममा शारिरीक अस्वस्थता र बुढ्यौलीका कारण उपस्थित हुन नसकेका अरु गुरुहरुलाई उनीहरुकै घरमा गएर सम्मान गरिने ज्यापु समाजका अध्यक्ष तीर्थलाल महर्जनले बताए ।
वाद्य गुरुहरुको सम्मान समारोहमा बागमती प्रदेश सभा सदस्य शोभा शाक्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय तथा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य पनि सहभागी थिए ।
कार्यक्रममा परम्परागत नेवारी नौ विधाका बाजा अर्थात धिँमे, का बाजा, ढोलक, खिं, दाफा में, बाँसुरी, घों लगायतका वाद्य गुरुहरुलाई सम्मान गरिएको हो ।
ज्यापु समाज ललितपुरको आयोजना तथा ललितपुर महानगरपालिका वडा नं ९ गछें टोलको व्यवस्थापनमा सो सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । सो सम्मान कार्यक्रम २०५४ सालपछि २५ वर्षपछिको दोस्रो ठुलो भएको आयोजकले बताएका छन् । २०५१ भाद्र २६ गते ज्यापु समाज ललितपुरको स्थापना भएको थियो ।