नेपाली हस्तकलाका सामानहरुको आन्तरिक बजार प्रवद्र्धनको उद्देश्यका साथ नेपाल हस्तकला महासंघको उद्योग परिषद, कला तथा शिल्प परिषद र आइडिया नेपालको संयुक्त आयोजनामा आन्तरिक सजावटमा हस्तकला विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार ललितपुरको जावलाखेलस्थित हारती माँ ह्याण्डिक्राफ्ट सोरुममा कार्यक्रम सम्पन्न भएको हो । इन्टिेरियर डिजाइनर एसोसिएसन अफ नेपालसँग सहकार्य गरेको महासंघले कोभिड १९ को महामारीपछि नेपाली हस्तकलाका वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा संकुचन आएको बताउँदै आन्तरिक बजार प्रबद्र्धनमा जोड दिएको छ ।
मंगलबारको अन्तरकृया कार्यक्रममा आइडिया नेपालका अध्यक्ष बृन्दा कक्षपतिले इन्टेरियर डेकोरेशनबारे प्रस्तुतीकरण दिएका थिए भने श्यामबदन श्रेष्ठले हस्तकला वस्तुहरुको आन्तरिक प्रयोग के कसरी गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । नेपाल हस्तकला महासंघका बरिष्ठ उपाध्यक्ष सनम शाक्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल हस्तकला महासंघका पूर्व अध्यक्ष ईन्द्रबहादुर शाक्य, नेपाल हस्तकला महासंघका पुर्व अध्यक्ष श्री पुष्करमान शाक्य, नेपाल हस्तकला महासंघका पूर्व अध्यक्ष धर्म शाक्य लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोलले नेपाली हातेकागज के के मा कसरी प्रयोग गर्ने भन्ने बारे जानकारी गराएका थिए ।
हस्तकलाका क्षेत्रमा विशेष क्षमता राख्ने व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रममा नेपाल हस्तकला महासंघका उपाध्यक्षहरु दिब्यतारा तुलाधर, अमृत खड़का, किरण स्थापित, दिपेन्द्र शाक्य, नबिन शाक्य र दिल्ली रत्न तुलाधर तथा कार्यसमितिका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।