Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

‘हुक्का तान्नेलाई पनि मुखको क्यान्सर हुनसक्छ’—क्यान्सर विशेषज्ञ


ललितपुर, ११ साउन । पछिल्लो समयमा राजधानीका रेस्टुरेन्टहरुमा फेशनको रुपमा हुक्का तान्ने चलन बढिरहेको छ । विभिन्न स्वादमा पाइने यस्ता हुक्काको धुवाँले स्वास्थ्यलाई कति असर गर्छ भन्ने कुरा अहिलेसम्म कसैले सोचेको पाँईदैन । तर क्यान्सर विशेषज्ञहरु भने यस्ता हुक्काको धुँवाले फोक्सोमा मात्रै नभई मुखको क्यान्सर हुनसक्ने संभावना औंल्याउँछन् ।

विश्व टाउको तथा घाँटी क्यान्सर दिवस (वल्र्ड हेड एण्ड नेक क्यान्सर डे) को अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिले टाउको र घाँटीको क्यान्सरको उपचार गराईराखेकाहरु र क्यान्सर निको भईसकेकाहरुसंगको छलफल कार्यक्रममा विशेषज्ञ चिकित्सकले क्यान्सरको संभावना औंल्याएका हुन् ।

 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका टाउको र घाँटी विभागका प्रमुख, वरिष्ठ कन्सल्टयाण्ट सर्जन डा.प्रभात चन्द्र ठाकुरले चुरोट, सुर्ती, पानपराग र गुट्खा नखानेलाई पनि घाँटी र मुखको क्यान्सर भएको पाइएकोले हुक्काको धुँवामा रमाउनेलाई ढिलो चाँडो क्यान्सर हुनसक्ने बताए ।

पछिल्लो समय चुरोट, सुर्ती, पानपराग र गुट्खाका कारण मुख, जिब्रो, घाँटी र बंगाराको क्यान्सरका विरामी बढीरहेको पनि डा.ठाकुरले बताए ।चुरोटले मुखको मात्रै नभई फोक्सोको क्यान्सर पनि हुने बताउँदै उनले अस्पतालमा टाउको र घाँटीको क्यान्सरको उपचार शुरु गरेको ५ वर्षको अवधिमा राजधानीभन्दा वाहिर जिल्लाका विरामीहरु उपचारको लागि आएको पनि प्रष्ट पारे ।

भारत लगायत अन्य मुलुकबाट उपचार गराएर फर्केका यस्ता विरामीहरु पनि थप उपचारको लागि नेपाल क्यान्सर अस्पतालमा आउने गरेको डा.ठाकुरको दावी थियो ।

अस्पतालको रेडियोथेरापि विभागका प्रमुख, वरिष्ठ कन्सल्ट्याण्ट डा.गिसुपनिख प्रसिकोले क्यान्सर शुरुको अवस्थामा पत्ता लागेता पनि उपचार गर्ने अस्पताल राम्रो र समयमै उपचार नभएमा विरामीले अकालमा ज्यान गुमाउन पर्ने बताए ।
टाउको र घाँटीको क्यान्सरको मात्रै नभई शरीरका विभिन्न अंगको क्यान्सर भएका विरामीको उपचारको लागि नेपाल क्यान्सर अस्पतालमा नयाँ र गुणस्तरीय प्रविधि भएकोले उपचारमा कुनै द्धिविधा नभएको पनि उनले प्रष्ट पारे ।

त्यस अवसरमा टाउको र घाँटीको क्यान्सरको उपचार गरि निको भईसकेका र उपचारका क्रममा रहेका प्रदिप सापकोटा, प्रा.अरुणदेव भटट्राई, रमेशकुमार नेम्कुल, मुकुन्द थापा, पथिराम शर्मालगायतले आ—आफ्नो अनुभव सुनाएका थिए ।
नेपाल क्यान्सर सहयोग समुह र उपचारका लागि सहयोगी हातहरुले उक्त कार्यक्रममा सहयोग गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार