काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भ्रातृसंगठन अनेरास्ववियूका पूर्वउपाध्यक्ष जीवन राईले निर्वाचन आयोगको कार्यालयमा पार्टी दर्ताको निवेदन दिएको खुलेको छ ।
एक महिनाअगाडि नै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ताका लागि निवेदन दिएको राईले संचारमाध्यमसँग बताएका छन् । “हामीले एक महिनाअगाडि नै दर्ताको निवेदन दिएका थियौँ । अहिले माधवकुमार नेपाल समूह अप्ठ्यारोमा परेकाले चर्चा भयो होला । तर, पार्टी दर्ता उहाँहरूसँग सरसल्लाह गरेर गरेको होइन,” उनको भनाइ छ ।
दल दर्ताका लागि निवेदन दिएको नयाँ पार्टीमा राई अध्यक्ष छन् भने पदाधिकारीमा अनेरास्ववियूकै नेता(कार्यकर्ता रहेका छन् । उपाध्यक्षमा कल्पना गुरूङ, महासचिवमा विनोद खुलाल, सचिवमा पशुपतिका अखिलका कार्यकर्ता ऐनविक्रम कुँवर र कोषाध्यक्षमा अर्घाखाँचीका सुशील खनाल रहेको उनले बताए । “हामीले दर्ता गरेर आएका छौँ । ४५ दिनमा आउनुस् भन्नुभएको थियो । अहिले खबर आएको छैन,” उनले भने ।
चुनाव चिह्न कलम रोजिएको राईले जानकारी दिएका छन् । “हामीले चुनाव चिह्न कलम नै होस् भनेर निवेदनमा माग दाबी गरेका छौँ,” उनले भने ।
नेकपा एमालेभित्र विवाद पुनः उत्कर्षमा पुगेको बेला यो तथ्य बाहिरिएको हो । नेता माधवकुमार नेपालसहितका नेताले नयाँ पार्टी दर्ता गर्ने बताउँदै आएका छन् । उनीसहित ११ जना नेतालाई पार्टीपद्धतिविपरीत काम गरेको भन्दै पुनः स्पष्टीकरण सोधिएको छ ।