Logo
२१ कार्तिक २०८३, शनिबार
|  Sat Nov 7 2026

प्रतिष्ठित ३ संस्थाले पुरानो बानेश्वर र मैतिदेवीका सडक किनारामा गरे वृक्षारोपण


काठमाडौंको पुरानो वानेश्वर र मैतिदेवी सडक किनारामा प्रतिष्ठित ३ संस्थाको अगुवाईमा वृक्षारोपण गरिएको छ । माट्रिका आई सेन्टर, नेपालमेड र साइनिङ नेपाल फाउण्डेसनको अगुवाईमा काठमाडौं महानगरपालिकाको वडा नं ९ र १० क्षेत्रका पुरानो वानेश्वर, मैतिदेवी लगायतका सडक किनारामा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा अतिथीका रुपमा नेपालका लागि जर्मन राजदूत डा.थमस प्रिन्ज, डा.आर्ने द्रेभ्ज, सिल्के द्रेभ्ज, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, काठमाडौं महानगरपालिका वडा नं ९ का अध्यक्ष रामजी भण्डारी, १० नम्बर वडाका अध्यक्ष रामकुमार केसी लगायतको उपस्थिती रहेको थियो ।

वृक्षारोपणपछि आयोजित कार्यक्रममा नेपालका लागि जर्मन राजदूत डा.थमस प्रिन्जले वृक्षारोपण कार्यक्रममा आफू सहभागी हुन पाउँदा असाध्यै खुसी लागेको बताए । यस्तै नेपालमेडका अध्यक्ष डा.आर्ने द्रेभ्जले फोक्सोका लागि हरियाली वातावरणको महत्वबारे बोलेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहरलाई हरियाली बनाउँने जस्तो पवित्र काममा माट्रिका आइ सेन्टर, नेपालमेड, साइनिङ नेपाल फाउण्डेसन लगायतका संस्थाले लिएको अगुवाईको खुलेर प्रशंसा गरे ।

यस्तै माट्रिकाका अध्यक्ष सुरज श्रेष्ठ , मेडिकल डाइरेक्टर डा. किशोरराज प्रधान र प्रबन्ध निर्देशक सोना प्रधानले सरसफाई र हरियाली जस्ता विषयलाई आफूहरुले सामाजिक उत्तरदायित्वका रुपमा ध्यान दिने प्रयास गरेको बताए । पुरानो वानेश्वर र मैतिदेवी क्षेत्रका सडक किनारामा २०० वटा बिरुवा रोप्ने योजना रहेको बताउँदै उनीहरुले असारे, जाइफुल, पारिजात, धुपी, कल्की,हर्रो लगायतका विरुवालाई प्राथमिकतामा राखेको जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !
विचार