प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अदालतले अदालत जस्तो हुनुपर्ने भन्दै राजनीतिक गर्न नहुने बताएका छन्। आइतबार बिहान विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुसँग दशैं, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘अदालत सम्मानित ठाउँ हो तर अहिले त्यहाँ के के मञ्चन भइरहेको त्यो सबैले देखेका छौं, ’उनले भने, ‘अदालतले अदालत जस्तो हुनुपर्छ। राजनीति गर्ने होइन।’ संविधान अनुसार र राजनीतिक दल सम्बन्धी हेक्का राखेर अदालत चल्नुपर्ने पोखरेलको भनाइ छ।
उनले अहिले मुलुक अलमलमा परेको अवस्था रहेको भन्दै ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प हुने बताए। नेतृत्वको विषयमा नेकपा एमालेका सबै नेताहरु जिम्मेवारी निर्वाह गर्न तयार रहेको भन्दै उनले आफूले परिस्थिति,आवश्यकता र देशभरका नेता कार्यकर्ताको मागअनुसार अघि बढ्ने बताए।





