
ललितपुर, ९ भदौ । भनिन्छ, स्वास्थ्यकर्मीको मिठो बोली र विरामीलाई गर्ने व्यवहारले विरामीको आधा रोग निको हुन्छ । तर साँच्चै उपचारको लागि अस्पताल पुग्ने हरेक विरामीले यस्तो व्यवहार पाउँछन त ? सोचनीय छ ।
साधारण रोग लाग्दा त विरामी र उनीहरुका आफन्तहरु आँत्तिन्छन, त्यसमाथि क्यान्सर रोग भन्ने वितिक्कै विरामीहरु नआत्तिने कुरै भएन । उनीहरुलाई व्यस्त स्वास्थ्यकर्मीहरुले सबै कुरा सम्झाउनै भ्याउँदैनन् । विगतको तुलनामा पछिल्लो समय क्यान्सरका विरामीको चाप धैरै बढेकोले विरामीलाई बुझाउन प्राय चिकित्सकले भ्याएका पनि छैनन् ।
यस्तो अवस्थामा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिले नेपाल क्यान्सर सहयोग समूह तथा उपचारको लागि सहयोगी हातहरुको समन्वयमा उपचारपछि क्यान्सर निको भइसकेकालाई स्वयम्सेवक बनाएर सो अस्पतालमा आउने नयाँ विरामीलाई आवश्यक परामर्श दिन विगतका वर्षदेखि नै खटाउँदै आएको छ ।
यसरी खटिएका पुराना र खटिने नयाँ गरि २२ जना स्वयम्सेवकलाई विहीबार एकदिने पुर्नताजगी तालीम दिएको छ । विगतमा कोभिड महामारी अगाडि सो अस्पतालमा दैनिक २ जना यस्ता स्वयम्सेवक खटिँदै आएकोमा हाल हप्तामा ३ दिन विहान ११ देखि दिउँसो ३ बजेसम्म स्वयम्सेवक खटिने गरेका छन् ।
विगतमा क्यान्सरको उपचार गरि कम्तिमा ५ वर्ष पुरा गरिसकेका महिलाहरु सो अस्पतालमा स्वयम्सेवकको रुपमा खटिँदै आएका हुन् ।
क्यान्सरको शंका लागेर या क्यान्सरको उपचारको लागि सो अस्पतालमा आउने विरामीहरुको मनोवल बढाउन स्वयम्सेवक खटाईएको सो अस्पतालकी निर्देशक एवम् नेपाल क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठले बताइन् ।
क्यान्सरको उपचारपछि पुर्नजीवन पाईसकेका मार्फत परामर्श दिएमा उपचारको लागि आउने क्यान्सरका नयाँ विरामीलाई हौसला पुग्ने र उनीहरुको रोग निको हुन सजिलो हुने नेपाल क्यान्सर सहयोग समूहका उपाध्यक्ष शशांक शर्मा बताउँछन् ।
स्वयम्सेवक पुर्नताजगी तालीमको नेपालको पहिलो मोडल एवम् क्यान्सर विजेता डली गुरुंगले उद्घाटन गरेकी थिइन भने सो अस्पतालका निर्देशक प्यालेटिभ केयर विभागका निर्देशक डा.मुरारी मान श्रेष्ठ, कन्सल्टेण्ट मेडिकल अंकोलोजिष्ट, डा.सचिन शाक्य र डा.सुस्मिता शर्माले उपचारको लागि अस्पतालमा आउने नयाँ विरामीलाई उचित परामर्श दिने विषयमा थप प्रशिक्षण दिएका थिए ।
तालीमका सहभागीहरुलाई अध्यक्ष नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराईले प्रमाणपत्र वितरण गरेका थिए ।