काठमाडौं, १५ भदौ । रोटरी क्लव यल, ललितपुरले दुवै मिर्गाैला फेल भएर प्रत्यारोपणको लागि वीर अस्पतालमा भर्ना भएकी ४९ वर्षिया पुजा देवान नापितको उपचारको लागि बिहीबार ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
अर्काे हप्ता मिर्गाैला प्रत्यारोपणको लागि अस्पताल भर्ना भएकी मिर्गाैलारोगबाट पीडित पुजाको लागि ५० हजार रुपैयाँको चेक अस्पतालमै पुगी रोटरी क्लव यलका अध्यक्ष गौतम श्रेष्ठले पुजाका छोरा सिराज नापितलाई हस्तान्तरण गरेका थिए । पुजालाई उनकै २४ वर्षे छोरा सिराजले मिर्गाैला दान गर्ने पुजाका पति शिव नापितले बताए ।
वरिष्ठ पत्रकार बलराम प्यासी तथा सो क्लवका सदस्य डा.रवीन्द्र रायको पहलमा रोटरी क्लव यलले आफ्ना पदाधिकारीहरुबाट तीन दिनमा ५० हजार रुपैयाँ संकलन गरेको थियो ।
उपचार रकम हस्तान्तरण कार्यक्रममा सो क्लवका कोषाध्यक्ष ओम कृष्ण श्रेष्ठ तथा कार्यसमिति सदस्य डा.रवीन्द्र राय र वरिष्ठ पत्रकार प्यासी सहभागी थिए ।
क्लवले यसअघि पनि मिर्गाैलारोगबाट पीडित अर्काे एकजना विरामीलाई ३० हजार रुपैयाँ सहयोग गरेको क्लवका अध्यक्ष गौतम श्रेष्ठले बताए ।