ललितपुर, १० असोज । नेपालको पहिलो र चर्चित मोडेल डली गुरुङ्गको क्यान्सर निको भएको पाँच वर्ष पुरा भयो । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका विशेषज्ञ चिकित्सकहरुले उपचार गरेपछि आफ्नो क्यान्सर निको भएर दोस्रो जीवन पाएको उनको भनाई छ ।
यसै खुसीयालीमा डलीले सोमबार आफ्नी सासु इन्दिरा याकथुम्बाले स्थापना गरेको विद्यालय, ज्ञानोदय वालवाटिका स्कुल बुङ्गमती, खोकनाको प्रांगणमा सांगितिक कार्यक्रम सहित क्यान्सर जितेका साथीभाईसंग भेट्ने गरि भव्य भेटघाटको आयोजना गरीन् ।
‘समयमै पत्ता लगाई उपचार गर्नसके क्यान्सर निको पार्न सकिन्छ र क्यान्सर उपचारको लागि अब विदेशिनु पर्दैन’ भन्ने सन्देश दिन आयोजना गरिएको ३६ औं सुदिप्त क्यान्सर सर्भाईभर मिटको समन्वय नेपाल क्यान्सर सहयोग समूह तथा उपचारका लागि सहयोगी हातहरु संस्थाले गरेको थियो ।
क्यान्सरको उपचारपछि निको भएका ३० भन्दा बढी विजेताहरु सहभागी भएका सो सांगितिक कार्यक्रममा नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.सुदिप श्रेष्ठले कुनै समयको चर्चित ब्रेक डान्स गर्दा कार्यक्रम थप रौनक बनेको थियो ।
मोडेल गुरुङ्गको उपचारमा प्रत्यक्ष संलग्न रहेका डा.श्रेष्ठको ब्रेक डान्समा अस्पतालका वरिष्ठ डाक्टरहरु डा.गिसुपनिख प्रसिको, डा.हरि ढकाल, डा.कपेन्द्र शेखर अमात्य, डा.निरज जोशी, गुरुङ्गकी सासु ज्ञानोदय वालवाटिका स्कुलकी संस्थापक प्रिन्सिपल इन्दिरा याकथुम्बा, नेपाल क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठ, उपाध्यक्ष शशांक शर्मा, क्यान्सर जितेर गत स्थानीय निर्वाचनमा सप्तरीको सुरुङ्गा नगरपालिकाको प्रमुख बनेकी गीता चौधरीका साथै अस्पतालका नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीले नृत्यमा साथ दिएर कार्यक्रमलाई थप आर्कषक बनाएका थिए ।
त्यस अवसरमा क्यान्सर विजेता गुरुङ्गको तर्फबाट त्यहाँ सहभागीहरुलाई अस्पतालका कार्यकारी अध्यक्ष डा.श्रेष्ठले उपहार प्रदान गरेका थिए भने नेपाल क्यान्सर सहयोग समूहकी संयोजक एवम् नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले गुरुङ्गलाई केक ख्वाएर क्यान्सर जितेकोमा वधाई दिएकी थिइन् ।
कार्यक्रममा क्यान्सर विजेताहरुको सम्मानमा आयोजित म्युजिकल चेयरलगायत विभिन्न खेल र नाचगानको कार्यक्रमा क्यान्सर विजेताहरुको हौसला वढाउन सबै चिकित्सक र स्वास्थ्यकर्मी सहभागी भएका थिए ।
त्यस अवसरमा कार्यकारी अध्यक्ष डा.श्रेष्ठले क्यान्सरको सवैभन्दा ठुूलो औषधि विरामीको मनोबल भएको बताउँदै मनोबल उच्च राख्न सके क्यान्सर रोगलाई परास्त गर्न सकिने बताए ।
कार्यक्रमकी आयोजक क्यान्सर विजेता डली गुरुङ्गले अहिलेको समयमा क्यान्सररोग पनि अन्य रोग जस्तै सामान्य भएको र समयमै रोग पत्ता लगाई उपचार गर्न सके निको हुने र उपचारको लागि कोही पनि विदेश जान नपर्ने बताइन् ।
कार्यक्रममा क्यान्सर विजेता गुरुङ्गकी सासु इन्दिरा याकथुम्बाले नेपाल क्यान्सर सहयोग समूहलाई एकलाख २ हजार साठी रुपैयाँ र उपचारको लागि सहयोगी हातहरुका लागि स्कुलका भाइस प्रिन्सिपस भानुसरले २५ हजार, शारदा गुरुङ्गले १४ हजार तथा मोडेल गुरुङ्गको बुबाले ५ हजार रुपैयाँ दुवै कोषकी कोषाध्यक्ष रेजिना मुल्मीलाई हस्तान्तरण गरियो ।
मोडेल गुरुङ्गको तर्फबाट हाल क्यान्सररोगको उपचार गरिरहेका तीनजना विरामीलाई जनही १५ हजारको दरले आर्थिक सहयोग वितरण गरिन् । यसअघि पनि गुरुङ्गले क्यान्सरका विरामीहरुलाई उपचार सहयोग गर्दै आएकी र भविष्यमा पनि यसलाई निरन्तरता दिइने बताइन् ।