विश्वेश्वरप्रसाद कोइरालाको प्रसिद्ध कथा दोषी चस्मामा केशवराजको कहानी देखाइएको छ जहाँ चाकरीका भोगी जर्साबलाई प्रसन्न पार्न सलामी गर्नुलाई नै केशवराजले आफ्नो नित्यकर्मको अभिन्न अङ्ग बनाएका हुन्छन् । चाकरी नगरे र जर्साबका युक्तिसँग असन्तुष्टि राखे घरमा चुलो नबल्ने डर केशवराजलाई हुन्छ । २००६ सालमा प्रकाशित यो कथाको स्वरूप अहिले ७३ वर्ष पछाडि अलिकति परिवर्तन भएको छ, आधुनिकीकरण भएको छ । अहिले गणतान्त्रिक नेपालको दोषी चस्मामा केशवराजको भुमिकामा देखिएका छन् मिनेन्द्र रिजाल, भीम रावल र हरिबोल गजुरेलहरू । यस्तै जर्साबको भुमिकामा प्रचलित ’बा’ हरु छन् । यहाँ यी आधुनिक केशवराजहरुले भोगेको सजाय हो ’प्रतिनिधि सभाको बन्द ढोका’ ।
प्रतिनिधी र प्रदेश सभाको निर्वाचनका लागि उमेद्धारहरु टुङ्गो लागेका छन् । पार्टीले क–कसलाई टिकट दियो भनेर हेर्दा कसैलाई काखा कसैलाई पाखा गरेको छर्लङ्ग देखिन्छ । चुनावका लागि ’बा’ हरु कोही झापा हानिए, काही गोरखा मोडिए भने कोही डडेलधुरातिर लागे । तर, यी ’बा’का विरोध गर्नेहरु कहाँ जाउँ के गरौं भै रहेका छन् । हिन्दी फिल्मको गुण्डाको एउटा डायलग यहाँ ठ्याक्कै मेल खान्छ “जो हमसे टक्रायगा मिट्टी में मिल जाएगा“ ।
नेकपा एमालेले पूर्व उपप्रधनमन्त्री समेत रहेका भीम रावललाई टिकट दिएन । यहाँ सम्म कि त्यस क्षेत्रबाट भीम रावलको मात्र नाम सिफारिस हुँदा पनि उनले टिकट पाएनन् । कारण ? उनले अध्यक्ष ओलीप्रति व्यक्त गर्ने असन्तुष्टि ।
नेकपा टुक्रिएर एमाले र माओवादी भएपछि उनी माधव नेपाल समूहमा थिए । तर, नेपालले नेकपा समाजवादी खोलेपछि रावल उता गएनन्, एमालेमै रहे । चितवनमा भएको एमालेको १०औँ महाधिवेशनमा केपी ओली निर्विरोध अध्यक्ष हुन चाहन्थे तर अध्यक्षको दौडमा आफु पनि उठे र चुनाव गराएरै छाडे । रावलकै कारण ओली निर्विरोध अध्यक्ष हुन पाएनन् । यीनै कारणहरूले गर्दा उनले प्रतिनिधी सभाको टिकट गुमाउनु पर्यो ।
एमालेका अर्का नेता घनश्याम भुसालले पनि टिकट पाएनन् । ओली र भुसालको ग्रह नै मिल्दैनथ्यो भन्दा पनि गलत नहोला । “ओलीले देशलाई पार लगाउन सक्दैनन्, ओलीले सिङ्गो पार्टीलाई नै भड्खालोमा हाल्छन् “ जस्ता अभिव्यक्तिहरु उनी बारम्बार दिई रहन्थे । टिकट नपाएपछि भुसालले एमाले परित्याग गरेर स्वतन्त्र उमेद्धारी घोषणा गरे।
अर्को खेमालाई समायोजन गरेर चुनावमा एकढिक्का भएर प्रस्तुत हुनुको सट्टा गुटलाई नै पाखा लगाउने ओलीको कदमले एमालेमा अहिले माक्र्सवाद र लेनिनवाद होइन ’ओलीवाद’ हावी छ भन्ने कुरा प्रष्ट दर्शाउँछ ।
आफूलाई लोकतान्त्रिक पार्टी भन्ने नेपाली कांग्रेसमा पनि यो प्रवृत्ती केही हद सम्म देखिएको छ । भ्रष्टाचार अभियोगमा गत संसदमै निलम्बित विजय गच्छदार र इट्टा भट्टी प्रकरणका अफताब आलमका सुपुत्र फर्दोस आलम टिकेट पाउनेको सूचीमा अटाउँदा मिनेन्द्र रिजाल बाहिरिए । सीमा विवादमा भारतीय पत्रकार अर्नब गोस्वामीको कार्यक्रममा गएर उनलाई खरो जवाफ दिएपछि रिजालको चर्चा चुलिएको थियो । कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि मिनेन्द्र रिजालले नैतिकता प्रदर्शन गर्दै रक्षामन्त्री पदबाट राजीनामा दिएका थिए । कांग्रेसमा नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने विचार राख्ने रिजाल हालसालै देउवा विपक्ष खेमामा थिए । गत निर्वाचनमा मोरङ २ बाट बाम गठबन्धनको उमेद्धारलाई हराएका रिजालले यसपटक भने टिकट नै पाएनन् ।
त्यस्तै कसैलाई काखा कसैलाई पाखा गर्दा कांग्रेसबाट चर्चित विश्व अर्थशस्त्री स्वर्णीम वाग्ले र बौद्धिक नेता गोविन्द राज जोशीले पनि टिकट पाएनन् ।
अब यो प्रवृत्ती बाट माओवादी अलग हुने त कुरै भएन । त्यसै त माओवादीमा सदाबहार अध्यक्ष प्रचण्डसँग फरक मत राख्ने नै खासै छैनन्, जो जो थिए पहिलै नै बाहिरी सके । तर, अलि अलि प्रश्न उठाउने हरिबोल गजुरेल र लेखनाथ न्यौपानेको हालत पनि उहि रावल रिजालको जस्तै भयो । हेरेको हेरै ।
यो बढिरहेको चाकरी प्रवृत्ती समग्र गणतन्त्रको लागि खतरा हो । आफूलाई प्रश्न गर्नेहरूलाई पाखा लगाएर अध्यक्ष, सभापतिलाई फाइदा होला तर सिङ्गो पार्टीलाई हुने घाटा नै हो । पार्टी तब मात्र बलियो हुन्छ जब पार्टी भित्र नेतृत्वलाई प्रश्न गर्ने एकाई हुन्छ । पार्टी भनेको व्यक्ति होइन, विचार हो । अनि विचारको वृद्धि तब हुन्छ जब त्यो विचारमाथि बारम्बार विमर्श गरिन्छ । यदि पार्टिलाई संरचनागत रूपमै बलियो हुनु छ भने फरक गुटको समायोजन र सहकार्य अत्यावस्यक छ ।
कवि अर्जुन पराजुली लेख्छन् :
गोडामा चिल्लो घसिदिनु भएन ?
गोडा मिचिदिनु भएन ?
दुई सय किलोको माला पनि लगाइदिनु भएन ?
यो देशको इतिहासमा “तपाईं भन्दा ठुलो तपाईं नै हो“
भनेर कसम पनि खाइदिनु भएन ?
ओहो !
गर्ने बेला तपाईंले यो पनि गर्नु भएनछ, उ पनि गर्नु भएनछ ।
अनि कुन नाताले पर्नु त ?
अनि पो संसदको टिकट पाउनेमा पर्नु भएनछ ।






