रुकुमको मुसिकोटस्थित बागबजार नजिकै रोकेर राखेको ट्रकमाथि ढुंगामुढा र बोतल प्रहार गर्नेहरुलाई नियन्त्रण गर्न लाग्दा प्रहरी र स्थानीयबीच झडप भएको छ। गएराति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो । घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । चार जना भागेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





