
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टर हरिसिद्धिले फोक्सोमा क्यान्सर भए नभएको समयमै पत्ता लगाउने हेतुले विरामीलाई सहुलियत दरमा सिटि स्क्यान गरिदिने भएको छ ।
पुरुषहरुमा क्यान्सरको पहिलो नम्बरमा रहेको फोक्सोको क्यान्सर समयमै पत्ता लागोस भनेर अस्पतालले एक महिनाभरी अस्पतालमा आउने नयाँ विरामीको लागि सहुलियत दरमा सिटि स्क्यान गरिदिने अस्पतालका मेडिकल डाइरेक्टर एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.विजेशराज घिमीरेले बताए ।
नोभेम्वर महिना विश्व फोक्सो क्यान्सरबारे जनचेतना फैलाउने महिना भएकोले अस्पतालले एक महिना अवधिभरी सहुलियत दरमा सिटि स्क्यान गरिदिन लागेको मेडिकल निर्देशक डा. घिमीरेले बताए ।
नेपाल क्यान्सर सहयोग समूहले क्यान्सर विजेताहरुलाई सहभागी गराई सोमबार नेपाल क्यान्सर अस्पतालमा आयोजना गरेको ३८ औं क्यान्सर सर्भाईभर मिटमा डा.घिमीरेले सो कुरा बताएका हुन् ।
धुम्रपान र सुर्ती सेवन नगर्ने हो भने ८५ प्रतिशत फोक्सोको विरामी घट्ने दावी गर्दै डा.घिमीरेले पहिलो र दोस्रो चरणको फोक्सोको क्यान्सरको लक्षण नदेखिने र तेस्रो या चौथो चरण पुगिसक्दा विरामीलाई बचाउन कठिन हुने पनि उनले बताए । त्यसैले समयमै सिटि स्क्यान गरि फोक्सोको अवस्था पत्ता लगाउन विरामीसंग उनले अनुरोध गरे ।
पछिल्लो समयमा उपलव्ध भएको क्यान्सरको नयाँ औषधि उपचार विधि ‘इम्युनोेथेरापि’ले चौथो चरणमा पुगिसकेको क्यान्सरको विरामीको आयु लम्व्याउन सकिने बताउँदै यो उपचार विधि निकै महंगो भएको पनि डा.घिमीेरेले बताए ।
सोही अस्पतालको रेडियोलोजि विभागका प्रमुख एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा गिसुपनिख प्रसिकोले नेपाल क्यान्सर अस्पतालमा रहेको रेडियोलोजी उपचार सेवा नेपालभरीकै उत्कृष्ट रहेको दावी गर्दै क्यान्सरको उपचारमा अत्याधुनिक उपकरणको साथै विशेषज्ञ जनशक्ति रहेको बताए ।
क्यान्सरको विरामीको अवस्था हेरि उसलाई तिनैथरीको उपचार विधि क्यान्सर भएको भाग विकिरणद्धारा सेक्ने विधि रेडियोथेरापि, औषधि उपचार विधि केमोथेरापि र क्यान्सर भएको भाग काटेर फ्याक्ने विधि सर्जरी गर्ने गरेको पनि डा.प्रसिकोले बताए ।
सो अस्पतालकी निर्देशक एवम् नेपाल क्यान्सर सहयोग समूहकी संयाजक स्वरुपा श्रेष्ठले अस्पतालमा क्यान्सरको उपचरा गर्न आएका विरामीहरुलाई क्यान्सर विजेताहरुले पराशर्म दिँदा उनीहरु निकै खुसी हुने गरेको र उनीहरुमा क्यान्सररोग निको भएर बाँच्न सकिने आशा पलाएको बताइन् ।
उनले क्यान्सररोगलाई जितेका र उपचारको क्रममा रहेकाहरुको व्यक्तिगत प्रतिभा देखाउन आगामी २०२३ को फेबु्रअरी महिनामा पोखरामा पहिलोपटक ‘र्याम्प वाक’ आयोजना गर्न लागेको बताइन् । नेपाल क्यान्सर सहयोग समूहले यसअघि काठमाण्डौमा २ पटक सफलतापुर्वक त्यस्तो र्याम्प वाक आयोजना गरिसकेको छ ।
सोमबारको कार्यक्रममा फोक्सोको क्यान्सर, यसको उपचार र रोकथामको लागि जनचेतना फैलाउनेबारे अस्पतालको प्याथोलोजि विभागका प्रमुख डा. हरिप्रसाद ढकाल, डायग्नोसिष्टक एण्ड इन्टरभेन्सनल रेडियोला्जि विभागका प्रमुख डा. सरोज प्रकाश चटौत, प्यालेटिभ केयर विभागका निर्देशक डा.मुरारीमान श्रेष्ठ, शल्यक्रिया विभागका प्रमुख डा.कपेन्द्र शेखर अमात्य, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई र उपाध्यक्ष शशांक शर्मा लगायतले आआफ्नो विचार राखेका थिए ।
कार्यक्रममा नेपाल क्यान्सर सहयोग समूहले सो अस्पतालमा उपचार गराईराखेका क्यान्सरका विरामी सुष्मा लिली महर्जन र सपना मगरलाई ५०/५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।