कञ्चनपुर- भीमदत्त नगरपालिका-८ भम्केनीधाम (तिलाचौर) क्षेत्रमा निर्माण भइरहेको अष्टधातुको नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणका लागि धातुको अभाव हुन थालेको छ । धातुको अभाव हुन नदिन सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समितिले घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । समितिका अध्यक्ष कृष्णबहादुर सिंहले सुदूरपश्चिम क्षेत्रमा घरदैलो गरी धातु सङ्कलन गरिने बताए।
‘मूर्ति निर्माणका लागि १८ देखि २५ टनसम्म धातु आवश्यक पर्छ’ उनी भन्छन्, ‘समितिसँग दुई टन मात्रै धातु मौज्दात छ । त्यसले मात्र पुग्दैन ।’ कैलाली, कञ्चनपुरलगायत जिल्लामा स्वयंसेवक परिचालन गरी धातु सङ्कलन गरिने र यसका लागि सबैको सहयोगको खाँचो रहेको अध्यक्ष सिंहको भनाइ छ । मूर्ति निर्माणका लागि ललितपुरको भ्याली कन्ट्रक्सन प्रालिले रु १० करोड ८२ लाखमा ठेक्का लिएको थियो । ‘निर्माण कम्पनीले मूर्ति निर्माणको कार्य गर्ने छ’ अध्यक्ष सिंह भन्छन्, ‘धातुको व्यवस्था भने समितिले नै गर्ने गरी सम्झौता गरिएको छ ।’
निर्माणकार्य अन्तर्गत हालसम्म प्राप्त धातुलाई कमलको आसन बनाएर ढलान गरी राखिएको र यसलाई ‘फिनिसिङ’ गर्ने कार्य भइरहेको छ । कमलको आसन निर्माणका लागि मात्रै तीन क्विन्टल भन्दाबढी धातु प्रयोग गरिएको छ । मूर्ति निर्माणका लागि चार वर्षसम्म लाग्नेछ ।
समितिका अध्यक्ष सिंहकाअनुसार मूर्ति निर्माणका हालसम्म लागि रु एक करोड ५० लाख भन्दाबढी खर्च भइसकेको छ ।मूर्तिमा तामा, पितल, ढलौट, जिङक, सुनचाँदी, काँस र फलाम गरी अष्ठधातुको प्रयोग हुने निर्माण कम्पनी भ्याली कन्ट्रक्सनका सञ्चालक मनोहर महर्जन बताउँछन् । ‘जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको परिकल्पनानुसार मूर्ति निर्माण भइरहेको छ’ उनी भन्छन्, ‘नेपाल आमाको मूर्तिमा चक्र, खुकुरी, जपमाला, राष्ट्रिय झण्डा, पैसाको माला, नौगेडी, कानको ढुङ्ग्री, मुकुट राखिने छ । मूर्तिमा चार हातसमेत निर्माण गरिने छ ।’





