
कोरोना संक्रमणबाट मोरङमा थप ११ जनाको मृत्यु भएको छ । अस्पतालमा उपचारको क्रममा रहेका १० र होम आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको हो ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन जना, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा चार जना र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जनाको मृत्यु भएको हो ।
यस्तै सुन्दरहरैंचा नगरपालिका–६ मा बस्दै आएकी एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन सुनिल देवका अनुसार पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको हो ।
विराट शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–४ की ५४ वर्षीय महिलाको मृत्यु भएको छ । २२ वैशाखमा भर्ना भएकी महिलाको सोमबार बिहान मृत्यु भएको हो । विराटनगर–३ का ८० वर्षीय वृद्ध पुरुषको पनि विराट अस्पतालमा मृत्यु भएको छ । जेठ ८ गते भर्ना भएका वृद्धको गए राति १ः५० बजेतिर मृत्यु भएको हो ।
आइतबार दिउँसो झापा भद्रपुरका ५१ वर्षीय र सुनसरीको दुहबी नगरपालिका–११ का ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो । दुहबीका पुरुष वैशाख २८ गते अस्पताल भर्ना भएका थिए । भद्रपुरका पुरुष आइतबार नै भर्ना भएका थिए ।
नोबेलमा मोरङको उर्लाबारी नगरपालिका–९ की ५८ वर्षीय महिलाको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु बिहान ९ः४० बजेतिर भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।
कोशी कोभिड–१९ अस्पतालमा सुनसरीको धरान उपमहानगरपालिका–१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनी जेठ ३ गते भर्ना भएका थिए । यस्तै सोही अस्पतालमा आइतबार दिउँसो विराटनगर महानगरपालिका–९ का ७६ वर्षीय पुरुष र झापा गौरीगञ्जकी ८४ वर्षीय महिलाको मृत्यु भएको थियो ।
विराटनगरका वृद्ध जेठ ५ गते अस्पताल भर्ना भएका थिए । झापाकी वृद्धा वैशाख ३० गते भर्ना भएकी थिइन् ।
सुन्दरहरैंचा नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको बिहान ६ः३० बजेतिर होम आइसोलेसनमा मृत्यु भएको छ । जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी घरमै बसेकी थिइन् ।