चालु आर्थिक वर्ष विदेशबाट ११ अर्ब रुपैयाँभन्दा बढीको सुनचाँदी आयात भएको छ । चालु वर्षको साउन महिनादेखि मंसिर महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको सुन र चाँदी आयात भएको भन्सार विभागले जानकारी दिएको छ । बजारमा बिक्री कम भएपछि यतिबेला भने विदेशबाट सुनको आयात रोकिएको छ । यद्यपि, ५ महिनाको अवधिमै सुन र चाँदीको आयातमा ११ अर्ब १६ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दाको प्रभाव नेपाली बजारमा पनि देखिएको छ ।
बजार भाउ कीर्तिमान नजिक पुगे पनि साउनदेखि मंसिरसम्मको अवधिमा विदेशबाट १० अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ । यस अवधिमा ३१ करोड १३ लाख रुपैयाँभन्दा बढीको चाँदी आयात भएको र २६ करोड १० लाखभन्दा बढीको चाँदीको धुलो आयात भएको तथ्यांक विभागले जनाएको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर सबै कमोडिटीको मूल्य बढिरहेको छ । युद्धका कारण यतिबेला विश्वभर पेट्रोलियम पदार्थ लगायत अधिकांश वस्तुको मूल्य बढिरहँदा सुनचाँदीको मूल्यसमेत बढेको छ । यस्तो अवस्थामा पनि नेपालमा सुनचाँदीको आयात बढेको देखिएको छ । गत आर्थिक वर्ष २०७८÷७९ को ५ महिनाको अवधिमा विदेशबाट ७ अर्ब ५३ करोड ७८ लाख रुपैयाँ बराबरको सुन भित्रिएको थियो । उक्त अवधिमा नेपालमा १० लाख ५० हजार ग्राम सुन भित्रिएको थियो । जबकि, चालु आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ५७ करोड ४० लाख रुपैयाँभन्दा बढीको १४ लाख ६६ हजार ग्राम सुन भित्रिएको छ । नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ कीर्तिमान बनाउने तयारीमा छ । हाल नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ छ ।
जुन, गत वर्ष फागुनको कीर्तिमानी मूल्यभन्दा जम्मा ३०० रुपैयाँले कम हो । अन्तर्राष्ट्रिय बजारमा एक वर्षको अवधिमा प्रतिऔंन्स १०१ डलरले बढेको छ । यससँगै, यतिबेला सुनको मूल्य प्रतिऔंन्स १९ सय २० डलर कायम छ । विभागका अनुसार यो वर्ष गत वर्षको सोही अवधिको तुलनामा ३ अर्ब ३ करोड रुपैयाँले सुन आयात बढेको हो । यस्तै, गत वर्षको तुलनामा चाँदी आयात समेत बढेको देखिएको छ । गत आर्थिक वर्षको ५ महिनाको अवधिमा विदेशबाट १० करोड बराबरको चाँदी भित्रिएकोमा चालु वर्षको सोही अवधिमा ३१ करोड १३ लाख रुपैयाँको चाँदी भित्रिएको छ ।