Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

सेती नदीमा पानीको बहाव बढ्यो, आवतजावतमा रोक


तीन दिनदेखिको लगातारको वर्षातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि डोटीको सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरामा परेको छ । सो पुल भएर सञ्चालन हुने यातायात सेवा ठप्प भएको छ ।नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । सेती नदीमा आएको बाढी पुलमाथि पुग्न थलेको दिपायल सिलगढी नगरपालिका–२ दिपायलका स्थानीयवासी चन्द्र पाठकले बताए ।

‘नदीमा पानी निकै बढेर पुल छोएको छ, बाढी लगातार बढे पुल नै खतरामा पर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने । बाढीले पुल छोएपछि बिहानदेखि उक्त पुलमा सवारीसाधन आवतजावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायव निरीक्षक रुपसिंह थापाले बताए । ‘बाढीले पुल छोएकाले सवारी आवागमन बन्द गरेका छौँ,’ उनले भने ।

पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकामलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौँ सवारी साधन पिपल्ला बजारमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल कुल्पातेले जनाएको छ ।

सेती नदीमा आएको बाढीका कारण सो वरपरका बस्तीसमेत डुबानमा परेको दिपायल पुलबजारकी स्थानीय मेरिसा परियारले बताइन् । ‘सेतीमा निकै ठूलो बाढी आएको छ, बाढी पुल बजारका पसल तथा घरमा समेत पसेको छ, हामी रातभरि सुत्न पाएका छैनौँ,’ उनले भने । अहिले पनि भारी बर्षात भइरहेको छ । बर्षातका कारण सोमवार दिउँसोदेखि जिल्लामा विद्युत् सेवा पनि अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण दिपायलका भरतबहादुर द्वारियाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार