Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

‘सुर्तिजन्य पदार्थ प्रयोगकर्ताको बानी छुटाउन चुनौति’—डा.सुदिप श्रेष्ठ


नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.सुदिप श्रेष्ठले पछिल्लो समय सुर्तिजन्य पदार्थको प्रयोगकर्तालाई त्यो बानी छुटाउन ठुलो चुनौति रहेको बताएका छन् ।

‘कहिल्यै सुर्तिजन्य पदार्थ प्रयोग नगरेकालाई यसको प्रयोग गर्न हुँदैन भन्यो भने मान्छन, तर लामो समयदेखि प्रयोग गरिराखेकाहरुको बानी छुटाउन भने ठुलो चुनौति छ’—विश्व ध्रुमपान दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यकारी अध्यक्ष श्रेष्ठले भने ।

नेपाल क्यान्सर सहयोग समूह तथा उपचारको लागि सहयोगी हातहरुको संस्थाको सहयोगमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले बुधबार ललितपुरमा आयोजना गरेको ‘४२ औं क्यान्सर सर्भाईभर मिट’ कार्यक्रममा डा.श्रेष्ठले सो चुनौतिबारे बताएका हुन् ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर सुर्तीजन्य पदार्थको प्रयोगकर्ताको बानी हटाउन नेपाल सरकारसंग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम गर्न तयार रहेको पनि उनले बताए । ‘त्यस्ता प्रयोगकर्तालाई हटलाइनबाट या प्रत्यक्ष परामर्श सेवा दिन अस्पताल हरदम तयार छ’—डा.श्रेष्ठले भने ।

अस्पतालका मेडिकल निर्देशक डा.विजेशराज घिमीरेले धुवाँ सहित (चुरोट, विँडी) र धुँवा रहित (सुर्ती, खैनी, पराग) जस्ता सुर्तिजन्य पदार्थको प्रयोग गर्नेमध्ये करीव ८५ प्रतिशत मानिसलाई फोक्सो र मुखको क्यान्सर लाग्ने गरेको तथ्य औंल्याए ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक एवम् नेपाल क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठ, अस्पतालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कपिल गौतम, समूहका उपाध्यक्ष शशांक शर्मा, क्यान्सरको उपचार गराईराखेका पुर्व फुटवल खेलाडी सुन्दरलाल श्रेष्ठ र ज्ञानु लामा लगायतले ध्रुमपान र सुर्तीसेवन स्वास्थ्यको लागि हानीकारक रहेको बताए ।

त्यस अवसरमासो अस्पतालकी डा.बनिता गुरुङ्गको समूहले क्यान्सर रोग र यसको उपचारबारे जनचेतनामूलक लघु नाटक प्रस्तुत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार