प्रादेशिक अस्पताल सिरहाको उपचारमा लापरबाही भएका घटना सार्वजनिक भएका छन् । परिवार नियोजन गर्ने पुगेका व्यक्तिको आन्द्रा नै काटिएको घटना सार्वजनिक भएको छ । परिवार नियोजन गर्ने क्रममा प्रादेशिक अस्पतालका चिकित्सकको चरम लापरबाहीका कारण आन्द्रा काटिँदा गोलबजार नगरपालिका–११ बलकवाकी ३२ वर्षीया अम्बिका यादव समस्यामा परेकी छन् ।
गत ५ पुसमा परिवार नियोजनको लागि सिरहा प्रादेशिक अस्पताल गएकी उनको शल्यक्रिया गर्ने क्रममा आन्द्रा काटिएको उनका श्रीमान उमेश यादवले जानकारी दिए । प्रादेशिक अस्पताल सिरहाका सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवको लापरबाहीले आफ्नी श्रीमती अम्बिकाको आन्द्रा नै काटिदिएको उमेशले बताए ।
‘शल्यक्रिया गरेको भोलिपल्ट पेट अत्याधिक दुख्न थालेपछि लहानको निजी अस्पतालमा लगे,’ उमेश भने, ‘त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागी धरानको विपि कोइराला विज्ञान प्रतिस्ठान पु¥याएँ । ६ महिलनादेखि त्यहीँ उपचार भईरहेको छ।’
परीवार नियोजनको क्रममा आन्द्रा काटिएर पेटभित्र पिप भरिएपछि शरीरको अन्य भागमा पनि इन्फेक्सन् फैलिएकाले पुनः शल्यक्रिया गनुपरेको उनले जानकारी दिए । ‘हस्पिटलको लापरबाहीले मेरो सर्वस्व स्वाहा भयो, आईसीयूमा मात्र करिब ४५ दिन राख्नुप¥यो । मानसिक र आर्थिक दुवै दुवैरुपले अहिले तन्नम भएको छु,’ उमेशले भने, ‘आन्द्रा काटिएकै कारण पछिल्लो ६ महिना देखि निरन्तर उपचारमा छौं । यस क्रममा ८५ लाख रकम खर्च भइसकेको छ । अझै कति हुने हो पत्तो छैन ।’
सिरहा प्रादेशिक अस्पताका प्रमुख सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवले नै शल्यक्रिया गरेको उमेशको दाबी छ । उनले अस्पतालका प्रमुख डा. नागेन्द्रलाई गुनासो गर्दा ‘तपाईं अहिले उपचार गराउनुस् पछि बसेर कुरा गरौँला’ भन्ने जवाफ दिएको बताए । तर, अहिले डा. यादवले फोन नै उठाउन छाडेको उमेशको गुनासो छ । ‘आफ्नो भएको सारा सम्पती सकिसक्यो । कसरी उपचार गराउने,’ उनी प्रश्न गर्छन् ।






