रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् ।
लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगङ्गा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा एक सय ५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाले आजको प्रेसलाई जानकारी दिए ।
रामेछाप नगरपालिकामा हालसम्म दुई हजार एक सय ९०, मन्थलीमा चार हजार, लिखु तामाकोशीमा पाँच हजार दुई सय, गोकुलगङ्गामा चार हजार, खाँडादेवीमा दुई हजार, उमाकुण्डमा दुई हजार र सुनापतीमा एक हजार छ सय ३५ पशुमा लम्पी स्किन सङ्क्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईँले जानकारी दिए ।





