Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

पहिरोबाट मृत्यु भएका परिवारलाई १ लाख ५० हजार राहत


बैतडीको शिवनाथ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका परिवारलाई राहतस्वरूप १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको  छ।  गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएबमोजिम राहत प्रदान गरिएको हाे ।  एकै परिवारका तीनैजनाको कात्तिक २ गते पहिरोमा पुरिएर मुत्यु भएको थियो। गाउँपालिकाका अध्यक्ष कर्ण साउद र उपाध्यक्ष कुस्मा चन्दलगायतको टोलीले पीडितको घरमै पुगेर आज १ लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो।

गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएबमोजिम राहत प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष चन्दले बताइन्। गाउँपालिकाका तर्फबाट जनही ५० हजारका दरले नगद प्रदान गरिएको र खाद्यान्न सामग्री पनि वितरण गरिएको हो। पहिरोले घर लगेपछि आफन्तको घरमा आश्रय लिएर बसिरहेका पीडित परिवारलाई एक क्विन्टल चामल, १० किलो दाल, ४ किलो नुन पनि गाउँपालिकाले वितरण गरेको छ।

पहिरोपीडित उचित बसोवासका लागि पनि पालिकाले पहल गर्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष साउदले बताए। गाउँपालिकाले तत्काल राहत कार्यविधिअनुसार पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरेको र अन्य ठाउँको पनि क्षतिको विवरण संकलन कार्य भइरहेको छ। गाउँपालिका अध्यक्ष साउदले भने, ‘गाउँपालिकाका सबै ठाउँमा पहिरोले क्षति पुर्‍याएको छ, हामी स्थलगत रूपमै अनुगमन निरीक्षण गर्दै छौं।’

स्थलगत निरीक्षण र तथ्यांक संकलनको काम भइरहेको र तथ्यांक संकलनपछि पीडित परिवारलाई पालिकाका तर्फबाट उचित राहत दिने गाउँपालिकाले जनाएको छ। शिवनाथ गाउँपालिकामा हालसम्म ७ वटा घरमा पूरै क्षति पुगेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार