Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

ठूलो भर्‍याङ यातायात कार्यालय स्थानान्तरण गर्ने तयारी


यातायात व्यवस्था कार्यालयको ठूलो भर्‍याङ कार्यालय स्थानान्तरण गर्ने तयारी गरिएको छ । पाँच वर्षदेखि नागार्जुन नगरपालिका–१० मा भाडाको घरमा यातायात कार्यालय सञ्चालन हुँदै आएको थियो । आगामी पुस महिनामा करार अवधि सकिन लागेपनि कार्यालयले नवीकरण गरेको छैन ।

कार्यालय स्थानान्तरणका लागि नयाँ घर खोजिएपछि स्थानीयहरुले कार्यालय स्थानन्तरण गर्न नहुने माग राखेको स्थानीय सामुदायिक सेवा समितिका अध्यक्ष प्रताप दानी बताउँछन् । कार्यालय सञ्चालनका लागि भाडामा घर आवश्यक परेको भन्दै कार्यालयले दशैंअघि सिलबन्दी बोलपत्र प्रस्ताव आह्वान गरेको थियो । बोलपत्रमा चार जना घरधनी सहभागी भएपनि मापदण्डमा नपरेको भन्दै दुईवटा मात्रै अन्तिम छनोटमा सहभागी भएका थिए ।

दुई घरधनीमध्ये एक जना अहिलेकै घरधनी र अर्को कलंकीका घरधनी थिए । क्षेत्रफल ठूलो भर्‍याङकै धेरै भएको र रकम पनि ठूलो भर्‍याङका घरधनीले कम प्रस्ताव गरेका छन् । घरधनी वरुण आचार्यका अनुसार ठूलो भर्‍याङमा १ लाख ९५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । कलंकीमा भने २ लाख २५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

कम क्षेत्रफलमा महँगो भाडा तिरेर कार्यालय स्थानान्तरण गर्न लागिएको भन्दै स्थानीयहरुले असन्तुष्टि जनाएका छन् । ‘पहिले यहाँ पार्किङको समस्या थियो, अहिले त्यो सबै समाधान भइसकेको छ, भौतिक पूर्वाधारहरु पनि धेरै बनेका छन्,’ सेवा समितिका अध्यक्ष दानी भन्छन्, ‘यस्तो अवस्थामा स्थानीयको रोजीरोटी नै गुम्ने गरी कार्यालय स्थानान्तरण गरिनुहुँदैन भन्ने स्थानीयको माग छ ।’

स्थानीय आशाजित शाक्य कार्यालयको घर सार्न आर्थिक चलखेल भएको हुनसक्ने आशंका व्यक्त गर्छन् । अहिले करोडौं लगानी भएको ठाउँमा सस्तो भाडामा घर उपलब्ध हुँदाहुँदै पनि आर्थिक प्रलोभनमा परेर कार्यालय सार्न लागिएको उनको आरोप छ । स्थानीयले विरोध गरेको झुठो हल्ला समेत कार्यालयले फैलाएको उनी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार