Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

कुलमानकै कार्यक्रममा पटक पटक बत्ति गएपछि…….


घण्टौंको लोडसेडिङ हटाएर वाहवाही कमाएका नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ पछिल्ला दिनमा जताततै झ्याप्प झ्याप्प बत्ति जान थालेपछि मजाकको पात्र बन्न थालेका छन् । आजकाल बत्ति जाँदा बत्ति गयो होइन कुलमानलाई के भयो भन्न थालिएको छ । बत्ति गएपनि कुलमान बत्ति आएपनि कुलमान । झ्याप्प गएको बत्ति आयो भने बत्ति आयो होइन कुलमान आयो भन्छन् मान्छेहरु । कुलमान र बत्ति अहिले एक अर्काका पर्याय बनेका छन् । अब कुरा गरौं कुलमानकै पत्रकार सम्मेलनमा बत्ति गएको र त्यो मजाकको विषय बनेको सम्बन्धि प्रसंगको ।

बिहिबार नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा कुलमान घिसिङले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । नेपाल विद्युत प्राधिकारणले गरेका प्रगतिको विवरण सार्वजनिक गर्न घिसिङले प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहिबार दिउँसो पत्रकारहरु बोलाएका थिए । भनेकै समय अर्थात २ बजे पत्रकारहरु पत्रकार सम्मेलन स्थलमा पुगेपनि । कुलमान घिसिङ सामान्य व्यक्ति मात्रै होइनन् उनी सेलिब्रेटी निर्देशक पनि हुन् । उनले बोलेका कुरा धेरैका लागि चासोका विषय बन्छ भनेर पत्रकारहरु पनि अन्यत्रका कार्यक्रम छाडेरै भएपनि उक्त कार्यक्रममा पुगे । पत्रकार सम्मेलन स्थल खचाखच भयो । कुलमान घिसिङ आफ्ना सहयात्रीहरुलाई दायाँबायाँ राखेर पत्रकार सम्मेलन गर्न थाले । विद्युत प्राधिकरणले के के प्रगति गरयो भनेर उनी त्यसको जानकारी गराउँन थाले । तर, पत्रकार सम्मेलन शुरु भएको केही समयमा नै कुलमान घिसिङले बोल्दा बोल्दै झ्याप्प बत्ति गयो । शान्त रुपमा घिसिङले बोलेका कुरा नोट गर्दै गरेका पत्रकारहरुको आवाज बत्ति गएपछि एकाएक ठूलो भयो । माहुरी भुनभुनाए झैं पत्रकारहरु गुनगुनाउँन थाले ।

कुलमान सरकै अफिसमा त बत्तिको हालत यस्तो छ भने अन्यत्रको के होला भनेर एकजनाले पछाडिाट फ्याट्ट भने । उनको बोली टुंगिसक्दा नसक्दै बत्ति आयो । मञ्चमा रहेका कुलमान घिसिङले हाँस्दै भने : पत्रकार मित्र आइहाल्यो त बत्ति । के साह्रो आत्तिनुभएको । त्यतिकैमा अर्का एकजना पत्रकारले जिस्कँदै भने, बत्ति गएपछि डरलाग्दो अँध्यारो भयो भित्र अनि नआत्तिएर के गर्नु त ? यत्तिकैमा पत्रकार सम्मेलन फेरि शुरु भयो । कुलमान घिसिङले बोल्न थाले । नेपाल विद्युत प्राधिकरणले गरेको प्रगतिको विवरण पत्रकारहरुलाई सुनाउँन थाले । घिसिङले लिखित मन्तव्य सुनाउँन शुरु गरेको केही मिनेट मात्र के भएको थियो फेरि बत्ति झ्याप्प गयो । घिसिङले बोल्दै गरेको माइकको आवाज रोकियो । फेरि झ्याप्प बत्ति गएपछि हलमा हाँसो गुञ्जियो । कुलमानले शान्त हुन आग्रह गर्दै पत्रकारहरुलाई भने, एकैछिन धैर्य गरौं है । त्यत्तिकैमा पत्रकारदिर्घाबाट कुलमानलाई भनियो, बत्ति नभएपनि सरको आवाज हामी सुनिहाल्छौं कन्टिन्यू गरौं । तर, भिडियो खिचिरहेका पत्रकारहरुले भने अनि क्यामेरालाई लाइट चाहिँ के मोबाइल बाल्नू । केहीबेर यस्तै सवाल जवाफ भइरहयो । कुलमानसँगै बसेका प्राधिकरणका अधिकारीहरु पनि मुखामुख गर्न थाले । हलमा हाँसोको फोहोरा छुटिरहयो । बीचमा कसैले भन्यो ः अब मैनबत्ति बालौं । अर्कोले भन्यो होइन, सबैले आ आफ्नो मोबाइलको लाइट बालौं । बत्ति केहीबेरसम्म पनि नआएपछि फेरि अर्का एक पत्रकारले कुलमान घिसिङलाई सोधे, यो बत्ति चाहिँ किन यसरी झ्याप्प झ्याप्प जान्छ निर्देशकज्यू ? मुसुमुसु हाँस्दै कुलमानले भने, यो विषयमा अहिले पछि कुरा गरौंला । उनले यसो भनेको केही मिनेटमा बत्ति आयो ।

कुलमान घिसिङ बोल्न थाले । लिखिति मन्तव्य अघि बढाए । लिखित मन्तव्य सकिने सकिने बेला भएको थियो फेरि बत्ति झ्याप्पै गयो । कुलमान घिसिङले बोल्न थालेपछि बत्ति गएको यो तेस्रोपटक थियो । फेरि बत्ति गएपछि चाहिँ पत्रकारहरुले भने ः कुलमान सर अब बत्ति जुन दिन जाँदैन त्यही दिन हामीलाई बोलाउँनूस् हामी त्यहीदिन आउँछौं , आजलाई पत्रकार सम्मेलन यत्ति गरौं । पत्रकारहरुले यसो भन्दा कुलमानले भने : होइन के भएको छ आज , यस्तो त हुनुनपर्ने । उनले कहिँ कतै फोन घुमाए । फोन घुमाउँदा घुमाउँदै बत्ति पिलिक्क आयो र फेरि झ्याप्पै गयो । कुलमान के गर्ने के को स्थितीमा पुगे । फेरि पत्रकारले भने, यो त अत्ति भयो । त्यस्तो भन्दा नभन्दै बत्ति आयो । कुलमानले फेरि प्रगति विवरण पढ्न थाले । प्रगति विवरण पढिसकेपछि उनले पत्रकारहरुलाई केही प्रश्न भए राख्न अनुमति दिए । पत्रकारले उही पुरानो प्रश्न दोहो¥याए ः किन बत्ति झ्याप्प झ्याप्प गएको ?

कुलमानले बत्ति जानुको मुख्य कारण सुनाए । वर्षा याममा रुखका पात झरेर विद्युत प्रसारण लाइनमा पर्ने र त्यसले विद्युत प्रसारणमा अबरोध हुँदा बत्ति जाने गरेको बताए । कतिपय ठाउँमा ठूला ठूला रुखमुनी प्रसारण लाइन रहेको र सबै ठाउँमा रुखका हाँगा काट्न सम्भव नहुने हुँदा त्यसका पात झरेर बेला बखत बत्ति जाने गरेको उनले जानकारी दिए । उनले यसो भनिरहँदा केही पत्रकारहरुले खासखुस गर्दै भने : निर्देशकको कुरा पत्याइदिउँ ?
तर, निर्देशकको कुरा पत्याएपनि नपत्याएपनि आजकाल झ्याप्प झ्याप्प बत्ति जाने गरेको कुरा भने सत्य हो । जसको प्रत्यक्ष अनुभव स्वयं विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले नै बिहिबार लिइहाले । त्यसैले झ्याप्प झ्याप्प बत्ति जाने रोगको निदान कसरी गर्ने भन्ने विषयमा कुलमान घिसिङले विशेष रुपमा सोच्न भने आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !
विचार