Logo
२०८०, २३ मंसिर शनिबार
|  Sat Dec 9 2023

शताव्दि टेक्दै गरेका डा. गौरीशंकर


बलराम प्यासी
काठमाण्डौ, २ भदौ । जन्म वर्षको हिसावमा शताव्दि टेकिसकेका वरिष्ठ छातीरोग विशेषज्ञ डा.गौरीशंकर लाल दास । उनमा अम्मल भने केही छैन । ‘चुरोट, सुर्ती, मदिरा सेवन गर्ने वानी नभएरै होला म अहिलेसम्म बाँचेको’ उनले भने ।
९९ वर्षको उत्तरार्धमा पनि उनी सामाजिक कार्यमा त्यतिकै सकृय छन् । विहान ५ बजे उठेर नित्य कर्म, योग र पुजापाठ सकि सामाजिक कार्यमा लाग्ने गरेका उनी अहिलेपनि स्वस्थ र लठ्ठिको सहारा विना हिँडडुल गर्न सक्छन भने चस्मा नलगाईकनै पढ्न र नजिक÷टाढाको वस्तु हेर्न र चिन्न सक्छन् । केही समय अघि उनको दुवै आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो ।

नेपालका दोस्रा छातीरोग विशेषज्ञ उनी जन्मेको वर्षको हिसावले शताव्दि वर्षमा प्रवेश गरेका छन् २०८० सालदेखि । ‘आउँदो असोज १० गते १०० वर्ष प्रवेश गर्छु’—उनले भने । उनी १९८१ साल असोज १० गते सिरहाको इनर्वामा जन्मेका रहेछन् ।

जन्मेको वर्षको हिसावमा शताव्दि वर्ष प्रवेश गरेका डा.गौरीशंकरलाई ‘नेपालकै पहिलो जीवित जेठा डाक्टर’ भनेर सार्वजनिक कार्यक्रममा सम्मान र अभिनन्दन गर्न शुरु भईसकेको छ । केही दिन अघि मात्रै विभिन्न संघसंस्थाले उनलाई अभिनन्दन गरिसकेका छन् ।

१०३ वर्षसम्म बाँचेका इतिहास तथा संस्कृतिवीद् सत्यमोहन जोशी, १०१ वर्ष बाँचेका राष्ट्रकवि माधव प्रसाद घिमिरेपछि लामो आयु बोकेका डा.गौरीशंकर नै पहिलो डाक्टर हुन् भन्दा दुईमत नहोला ।
डा.गौरीशंकरका बाबु जर्नादन लाल दास र आमा भवानी देवीको धेरै अघि निधन भईसकेको छ । आफ्नी धर्मपत्निलाई २३ वर्ष अघि गुमाईसकेका उनी अहिले एकल जीवन विताइराखेका छन् ।

उनी मित्रपार्क चावहिलस्थित घरमा आफना दुई छोरा इन्जिनियर आनन्द मोहन र सुरेन्द्र मोहन तथा बुहारी, नाति नातिनी र पनाति पनातिनीका साथमा रमाईराखेका छन् । जेठा छोरा ७६ वर्षका र कान्छा छोरा ६२ वर्षका छन् ।
बाबु जर्नादन लाल दास र आमा भवानी देवीका तीन भाई छोरामध्येका जेठा छोरा डा.गौरीशंकर मात्रै अहिलेसम्म जीवित छन् । राजनगरको रामेश्वर हाईस्कुलबाट मेट्रिक (१० कक्षा) उतिर्ण गरेपछि उनले दक्षिणी विहारको भागलपुरबाट आइएस्सी पास गरेका थिए ।


भारत र पाकिस्तान अलग हुनुअघि अर्थात सन् १९४५ मा पटना विश्वविद्यालयबाट उच्च अंकका साथ बिएस्सी गरेका उनले सोही विश्वविद्यालय र बेलायतको प्रिन्स अफ वेल्सबाट गरि एमबिबिएस उतिर्ण गरेका थिए । त्यसलगत्तै बेलायतको वेल्सस्थित वेल्स नेशनल स्कुल अफ मेडिसिनबाट छातीरोगबारे डिप्लोमा गरि लण्डन स्कुल अफ हाइजिनबाट ट्रपिकल मेडिसिन र हाइजिनमा डिप्लोमा गरेपछि उनी नेपाल फर्केका थिए ।

विसं २००९ साल फागुन १८ गते नेपालको जेठो वीर अस्पतालमा आवासिय मेडिकल डाक्टरको रुपमा सरकारी सेवामा प्रवेश गरेका उनको शुरुको तलव १८० रुपैयाँ थियो भने मासिक भत्ता २० रुपैयाँ । २००९ सालमा मेरो तलव १८० र भत्ता २० रुपैयाँ गरि २०० रुपैयाँ थियो, उनले विगत सम्झिँदै भने । ‘त्यति पैसाले खान, लाउन राम्रैसंग पुग्ने मात्रै होइन वचत पनि हुन्थ्यो’—उनले भने ।

उनीसंग वीर अस्पताल, राणाकालीन समयमा क्षयरोगीका विरामीहरुको अस्पताल टोखा स्यानेटोरियम, फेरि वीर अस्पताल, स्वास्थ्य मन्त्रालय, सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्, लोकसेवा आयोग, राष्ट्रिय योजना आयोग लगायतमा वरिष्ठ चिकित्सक र विश्व स्वास्थ्य संगठनमा विशेषज्ञ सल्लाहकारको रुपमा काम गरेको अनुभव छ ।

तत्कालिन राजा वीरेन्द्रबाट लोकसेवा आयोगको सदस्यमा मनोनित गरिएका उनी २ पटक गरि १२ वर्ष काम गरि त्यँहिबाट सेवा निवृत्त भएका थिए । ‘१८० रुपैयाँबाट सरकारी सेवा प्रवेश गरी जागीर छोड्दा अहिले मेरो पेन्सन ६० हजार जति आउँछ ।’

सरकारी सेवा निवृत भएको १० वर्षपछि अर्थात २०५७ सालतिर तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको कार्यकालमा राष्ट्रिय मानव अधिकार आयोगको गठनपछि पहिलो अध्यक्ष भएर पाँचवर्ष काम गरेका थिए ।
‘नेपाल रेडक्रस, नेपाल क्षयरोग निवारण संस्था, कुष्ठरोग निवारण संस्था नेत्र ज्योति संघलगायत विभिन्न सामाजिक संघसंस्थामा काम गरेको र सरकारी सेवाको अनुभवले मलाई सो आयोगको अध्यक्ष भएर काम गर्न सजिलो भयो, नत्र त्यसबारे खासै ज्ञान थिएन’—उनले भने ।

गोसाईकुण्ड, कैलाश मानसरोवर, मुक्तिनाथ लगायतका पहाडि र हिमाली क्षेत्रको पैदलयात्रा गरिसकेका उनी विभिन्न ठाउँमा घुम्न र रमाउन मन पराउँछन ।

छातीरोग विशेषज्ञ भएतापनि उनले विरामी जाँच्न छोडेको भने करीव २५ वर्ष भइसकेछ । वीर अस्पतालमा काम गर्ने समयमा हप्तामा एकचोटी न्युरोडको एउटा क्लिनिकमा गएर विरामी जाँच्ने गर्थें, उनले भने—‘त्यतिखेर एकजना विरामी जाँचेको ३ रुपैयाँ थियो ।’ पछि राजा वीरेन्द्रले विरामी जाँचेको ६ रुपैयाँ भन्दा बढी नलिनु भन्ने आदेश भएको थियो ।

सरकारी तथा सामाजिक सेवामा विभिन्न योगदान गरेवापत ५० भन्दा बढी विभूषण, पदक र सम्मान पाएका डाक्टर गौरीशंकर अझै कति बाँच्नुहोला भन्ने प्रश्नमा भने सरल भाषामा भन्छन—‘जति बाँचु सजिलैसंग बाँच्न पाउँ, मर्ने वेलामा पीडा नहोस् ।’


प्रतिक्रिया दिनुहोस !
विचार