प्रधानसेनापति प्रभुराम शर्मा चीन भ्रमणमा जाने भएका छन् ।
बेइजिङमा हुने १० औं सियाङसान फोरममा सहभागी हुन प्रधानसेनापति शर्मा चीन जान लागेका हुन् । नेपाली सेनाका अनुसार शर्मा कार्तिक १० देखि १६ गतेसम्म चीन भ्रमणमा रहनेछन् । फोरम भने कार्तिक १२ गतेदेखि १४ गतेसम्म आयोजना हुनेछ ।
गएको असोज २१ गतेदेखि बेलायतको भ्रमण गरेका शर्माको यो चीन भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको छ । सियाङसान फोरम एसियाको सुरक्षा र रक्षा विषयमा छलफल गर्ने एक बहुपक्षीय संवाद प्ल्याटफर्म हो । फोरममा ४० भन्दा बढी देशका अधिकारीहरूसहित अन्तर्राष्ट्रिय संस्था तथा विज्ञहरूको सहभागिता रहने बताइएको छ ।