Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

काठमाडौंमा रमिता, जाजरकोटमा सुत्केरीहरुको बिजोग


देशका प्रायः मान्छेको ध्यान यतिबेला काठमाडौंमा छ । दुर्गा प्रसाई नेतृत्वको अभियानले काठमाडौंमा गरिरहेको आन्दोलनमा कति मान्छे आए र अब कति आउलान् भन्ने चासोमै काठमाडौं व्यस्त छ । आन्दोलनको पक्षमा रहेकाहरुको ध्यान पनि यतै छ र विपक्षमा रहेकाहरुको ध्यान पनि यतै छ । देशको पछिल्लो राजनीतिप्रति चासो र चिन्ता लिनेहरुको संख्या सानो छैन । तर, काठमाडौंप्रति चासो केन्द्रित भइरहँदा कार्तिकको दोस्रो साता गएको भूकम्पले थिलथिलो बनेको जाजरकोटबारे भने कसैलाई मतलब छैन । जाजरकोटमा अहिले एक हजार भन्दा बढी सुत्केरी महिलाहरु यो चिसो ठण्डीमा कठ्यांग्रिएर बसेका छन् ।

भर्खर जन्मिएका बच्चाहरुको बिजोग छ । त्रिपालमुनी सुत्केरी महिला र नवजात शिशुहरु रात काट्न बाध्य छन् । वृद्धवृद्धा र ज्यष्ठ नागरिकहरु चिसोकै कारण धमाधम बिरामी परिरहेका छन् । तर, यो कुराको काठमाडौंलाई मतलब छैन । भूकम्प गएको भोलिपल्ट बिहानैबाट जाजरकोटमा भिआइपीहरुको लाम लाग्यो । जाजरकोट जाने, फोटो र भिडियो खिचाउने अनि काठमाडौं फर्कने भिआइपीहरुको भिडले केहीदिन जाजरकोट खचाखच नै भयो । पार्टीका नेता कार्यकर्तादेखि सामाजिक अभियन्तासम्मले जाजरकोट गएर सेल्फी खिचे ।

तर, चिसोले कठ्यांग्रिने यो समयमा जाजरकोटलाई फर्किएर कसले हेर्ने ? प्रधानमन्त्रीदेखि लिएर विपक्षी दलका नेतासम्मलाई यतिबेला दुर्गा प्रसाईदेखि लिएर पूर्वराजा ज्ञानेन्द्र शाह सम्मलाई गाली गर्न भ्याइनभ्याई छ । अनि दुर्गा प्रसाईहरुलाई उनै दल र तीनका नेताहरुलाई गाली गर्दै ठिक्क छ । जाजरकोटमा के भइरहेको छ त्यो हेर्ने र सुन्ने फुर्सद छैन ।
अहिले जाजरकोटका स्वास्थ्य संस्थामा उपचारका लागि जाने बिरामीको भीड नै लागेको छ । पछिल्ले तथ्यांक अनुसार भूकम्पबाट एक लाख २८ हजार ९१७ जना प्रभावित भएका छन् भने एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । एक हजार ८३२ दीर्घरोगी, ८५० जना अपांगता भएका व्यक्तिको समस्या कम्ता ददर्ननाक छैन । तर, यसतर्फ ध्यान कसले दिने ?


प्रतिक्रिया दिनुहोस !
विचार